९ चैत, काठमाडौं । नेपाली युवाहरूको पहल, सीप र स्वदेशी लगानीमा तयार पारिएको नयाँ राइड–सेयरिङ एप ‘ल बसम’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । ‘हामी सबै सँगै बसौं र यात्रा गरौं’ भन्ने मूल नारासहित सुरु गरिएको यो प्लेटफर्मले नेपालमै विकसित प्रविधिको प्रयोगमार्फत आत्मनिर्भरतातर्फको नयाँ संकेत दिएको छ ।
कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै राइड–सेयरिङ एप सार्वजनिक गरेको हो
काठमाडौंको तारकेश्वर– ८, शेषमतिमा कार्यालय रहेको ‘ल बसम’ हाल काठमाडौँ उपत्यकामा मात्र सेवा सुरु गरेको छ । छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । साथै, निकट भविष्यमा फुड डेलिभरी सेवा समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
सुरुआती चरणमा राइड सेयरिङका चालकहरुलाई कुनै सेवा शुल्क नलाग्ने गरी प्रयोग गर्न छुट दिइएको कम्पनीले जनाएको छ ।
स्वदेशी विकल्पको उदयः
कम्पनीका सञ्चालकहरूले सुरुवाती चरणमा विदेशी राइड–सेयरिङ एपहरूको आवश्यकता रहेता पनि अब स्वदेशी प्लेटफर्म सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको बताए । कम्पनीका सञ्चालक विष्णुराज गिरीले सबै सुविधासहितको नेपाली राइड सेयरिङ आइसकेकाले अब अन्य राइड सेयरिङतिर झुकाव राखिरहनु नपर्ने बताए । उनले विदेशी एपमार्फत ठूलो नेपाली रकम बाहिरिएको र त्यसले अर्थतन्त्रमा असर पारेको उल्लेख गर्दै ‘ल बसम’ ले त्यसलाई न्यूनीकरण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कम्पनी सञ्चालकहरुको भनाइमा, ‘ल बसम’ केवल सेवा होइन, नेपाली प्रविधि, सीप र श्रमलाई एकीकृत गर्दै देशभित्रै आर्थिक मूल्य सिर्जना गर्ने अभियान हो ।
कम्पनीका अनुसार प्लेटफर्मको मुख्य लक्ष्य नेपालको यातायात प्रणालीलाई सुरक्षित, मर्यादित र प्रविधिमैत्री बनाउनु हो । पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रयोगकर्तामा विश्वास निर्माण गर्ने रणनीति अपनाइएको कम्पनीले जनाएको छ ।
सुरुमा काठमाडौं उपत्यकामा सुरुआत गरिएको ‘ल बसम’ राइड सेयरिङ देशका अन्य मुख्य शहरहरुमा पनि विस्तार गर्ने योजना बनाइएको कम्पनीका अर्का सञ्चालक सिताराम अधिकारीले जानकारी दिए । उनले भने, ‘तत्कालका लागि ल बसम राइड सेयरिङ हामीले काठमाडौँ उपत्यकामा सेवा सुरु गरेका छौं । छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरहरूमा पनि सेवा विस्तार गर्ने लक्ष्य राखेका छौं ।’ कम्पनीले निकट भविष्यमा फुड डेलिभरी सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरेको सञ्चालक अधिकारीले बताए ।
उनका अनुसार हाल २५० भन्दा बढी चालकहरु जोडिएका छन् । यो एप प्लेस्टोर र एपस्टोर दुवैमा उपलब्ध रहेको छ ।
महिला यात्रीका लागि ‘पिंक मोड’ः
‘ल बसम’ ले चालकलाई केवल ड्राइभर नभई साझेदार को रूपमा लिने अवधारणा अघि सारेको छ । कम्पनीका अनुसार चालकहरूको सम्मान र उचित अवसर सुनिश्चित गरिनेछ । त्यस्तै, यात्रुहरूलाई पनि ग्राहक मात्र नभई समुदायका सदस्यका रूपमा लिइनेछ । कम्पनीले चालक र यात्रुलाई प्लेटफर्मका ‘अभिभावक’ वा ‘परिवार’ को रूपमा परिभाषित गरेको छ ।







