११ चैत, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशन कार्यतालिका संशोधन गरेको छ । पार्टीको आजको केन्द्रीय समिति बैठकले २ भदौबाट वडा अधिवेशन सुरू गर्ने निर्णय गरेको छ ।
यसअघि मंगलबारको बैठकमा ६ साउनमा वडा अधिवेशन सुरु गर्ने कार्यतालिका प्रस्तुत गरिएको थियो। उक्त कार्यतालिकालाई संशोधन गरेर नयाँ कार्यतालिका ल्याइएको एक केन्द्रीय सदस्यले जानकारी दिए
ती केन्द्रीय सदस्यका अनुसार गाउँ–नगर अधिवेशन ७ भदौका लागि धकेलिएको छ । यसअघि १२ साउनमा गाउँ–नगर अधिवेशन गरिने कार्यतालिका थियो ।
यस्तै २३ साउनका लागि प्रस्ताव भएको प्रदेश सभा क्षेत्रीय अधिवेशन संशोधन गरेर १७ भदौमा आयोजना हुने भएको छ ।
३० साउनमा गर्ने भनिएको क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २४ भदौमा गर्ने निर्णय कांग्रेसले गरेको छ । त्यसैगरी ६ र ७ भदौका लागि प्रस्ताव गरिएको एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २ र ३ असोजमा हुने भएको छ ।
प्रदेशहरूको अधिवेशनलाई ७ र ८ असोजमा हुने भएको छ । यसअघि प्रदेश अधिवेशन १५ र १६ भदौमा गर्ने प्रस्ताव बैठकमा गरिएको थियो ।
आगामी १६, १७, १८ र १९ असोजमा १५ औं महाधिवेशनका लागि मिति तय गरिएको छ । महाधिवेशन काठमाडौंमा आयोजना हुने भएको छ । यसअघि २४–२६ भदौमा १५ औं महाधिवेशन प्रस्ताव भएको थियो ।







