काठमाडौं ।नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले २०२६ एडिसनको गोवन क्लासिक ३५० मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। मिड–साइज मोटरसाइकल सेग्मेन्टमा लोकप्रिय रहेको ब्रान्डले यस मोडललाई बबर–इन्स्पायर्ड डिजाइन र राइडर केन्द्रित सुविधासहित बजारमा ल्याएको जनाएको छ।
नयाँ गोवन क्लासिक ३५० मा ३४९ सीसी एयर–कुल्ड सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ६,१०० आरपीएममा २०.२ बीएचपी पावर र ४,००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार इन्जिनलाई लेड–ब्याक बबर स्टाइलअनुसार स्मुद र आरामदायी राइडिङ अनुभव दिने गरी ट्युन गरिएको छ। साथै, ५–स्पिड गियरबक्सले सहरदेखि राजमार्गसम्म सहज गियर परिवर्तनमा सहयोग पुर्याउने बताइएको छ।
मोटरसाइकलमा एसिस्ट एन्ड स्लिपर क्लच, यूएसबी टाइप–सी चार्जिङ पोर्ट तथा डाउनशिफ्ट नियन्त्रण प्रणाली जस्ता नयाँ प्रविधि समावेश गरिएको छ, जसले राइडिङलाई थप सुरक्षित र सहज बनाउने कम्पनीको दाबी छ।
डिजाइनतर्फ, यसले सिग्नेचर सिंगल–सिट बबर स्टाइललाई निरन्तरता दिएको छ। फ्लोटिङ राइडर सिट, ह्वाइटवाल ट्युबलेस स्पोक ह्विल्स, चोपर स्टाइल फेन्डर, स्ल्यास–कट एक्जस्ट र मिड–एप ह्यान्डलबारले यसलाई आकर्षक र प्रिमियम लुक प्रदान गरेका छन्।
लन्च कार्यक्रममा अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले नेपाली राइडरहरू माझ यो मोडल लोकप्रिय हुने विश्वास व्यक्त गरे। उनका अनुसार स्वतन्त्र जीवनशैली रुचाउने राइडरका लागि यो मोटरसाइकलले फरक पहिचान बनाउनेछ। यो मोडल देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध हुने जनाइएको छ।
मूल्यतर्फ, शार्क ब्ल्याक र पर्पल हेज भेरियन्टको मूल्य ५ लाख ९८ हजार रुपैयाँ र ट्रिप टील तथा रेभ रेड भेरियन्टको मूल्य ६ लाख २ हजार रुपैयाँ तोकिएको छ। सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इन्फिल्ड विश्वकै पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। नेपालमा यसअघि नै क्लासिक ३५०, हिमालयन ४५० र मेटियर ३५० जस्ता मोडलहरू लोकप्रिय छन्। साथै, कम्पनीले हालै ‘फ्लाइङ फ्ली’ नामक इलेक्ट्रिक मोबिलिटी ब्रान्ड पनि सार्वजनिक गरेको छ।








