काठमाडौं, वैशाख ११ नविलबैकले पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा फैलिएको ग्राहक सूचनाको गोपनीयता भंग भएको भन्ने दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। बैंकले यस्ता आरोपहरू आधारहीन, भ्रामक र प्रमाणविहीन रहेको स्पष्ट पारेको छ।
बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार केही व्यक्तिहरूले नियोजित रूपमा दुष्प्रचार गर्दै बैंकिङ सेवाप्रतिको विश्वास कमजोर बनाउने प्रयास गरेको आरोप लगाइएको छ। विशेषगरी कानितपुर दैनिक मा प्रकाशित एक समाचारलाई तोडमोड गरी सामाजिक सञ्जालमा गलत सन्देश फैलाइएको बैंकको भनाइ छ।
नबिल बैंकले ग्राहकको व्यक्तिगत तथा कारोबारसम्बन्धी विवरण अत्यन्त गोप्य रहने स्पष्ट गर्दै त्यस्तो जानकारी केवल सम्बन्धित ग्राहक, उनका आधिकारिक प्रतिनिधि वा कानुनी प्रक्रियाअनुसार माग गर्ने नियामकीय तथा अनुसन्धान निकायलाई मात्र उपलब्ध गराइने जनाएको छ। अन्य कुनै व्यक्ति वा माध्यमलाई यस्तो सूचना नदिइने र नदिइएको पनि बैंकले दाबी गरेको छ।
बैंकका अनुसार ग्राहकसम्बन्धी कुनै पनि डेटा पहुँचको सम्पूर्ण अभिलेख कोर बैंकिङ प्रणालीमा सुरक्षित रूपमा राखिने भएकाले अनधिकृत पहुँच वा चुहावट सम्भव नहुने उल्लेख गरिएको छ।
चार दशकभन्दा बढी इतिहास बोकेको नबिल बैंकले बैंकिङ गोपनीयता र सूचना सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आएको बताउँदै यस्ता विषयमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कार्य गर्दै आएको जनाएको छ।
साथै, बैंकले तथ्यहीन प्रचार–प्रसार नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै नियोजित दुष्प्रचार गर्ने व्यक्तिविरुद्ध इलेकट्रोनिक ट्रानसेक्सन एक्ट २००६ लगायत प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सकिने चेतावनी दिएको छ।
बैंकले आफ्ना ग्राहक तथा सरोकारवालालाई यस्ता भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै सुरक्षित, विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको पुनः स्पष्ट पारेको छ।








