काठमाडौँ, असार २५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालले अन्तरदेशीय ऊर्जा ‘कनेक्टिभिटी’ मार्फत ऊर्जा व्यापारका लागि छिमेकी राष्ट्रसँग समन्वय र सहकार्य गर्दै आइरहेको बताउनुभएको छ ।
आज यहाँ भएको ‘इनर्जी कनेक्टिभिटी इन साउथ एसियाको रिजनल लञ्च इभेन्ट’ मा उहाँले अन्तरदेशीय प्रसारणलाइनमार्फत नेपालले भारत र बङ्गलादेशमा विद्युत् व्यापार गर्दै आइरहेको बताउनुभयो ।
“नेपालले द्विपक्षीय तथा बहुपक्षीय माध्यमबाट भारतको ग्रिड प्रयोग गरी बङ्गलादेशमा विद्युत् निर्यात गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “अन्तरदेशीय ऊर्जा कनेक्टिभिटी मार्फत नै छिमेकी मुलुकबीच समन्वय र सहकार्य गरी नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्न आवश्यक छ । ऊर्जा कनेक्टिभिटी नेपालको उच्च प्राथमिकतामा छ ।”
मन्त्री श्रेष्ठले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना सम्पन्न गरेर छिमेकी मुलुकमा नवीकरण ऊर्जाको स्रोतको रुपमा रहेको जलविद्युत्बाट उत्पादित विद्युत् निर्यात गर्ने लक्ष्यसहित काम भइरहेको बताउनुभयो ।
“नेपालले अहिले छिमेकी मुलुक भारत तथा चीनसँग सीमा जोडिएका क्षेत्रमा ४०० केभी क्षमताको ‘डब्बल सर्किट’का प्रसारणलालाइन निर्माणका योजनालाई अघि बढाइ रहेको छ । प्रसारणलाइन निर्माणले पूर्णता पाएसँगै अन्तरदेशीय विद्युत् व्यापारको सम्भावना र ढोका अझै खुल्नेछ ।”
नेपालका लागि युरोपियन युनियन ईयुका आवासीय राजदूत भेरोनिक लोरेन्जाले ऊर्जा कनेक्टिभिटीमार्फत स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्ने नीति अघि सार्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“युरोपियन मुलुकले अन्तरदेशीय इनर्जी कनेक्टिभिटीहरुको अभ्यास गरिसकेकाले पनि दक्षिण एसियाली मुलुकले पनि युरोपियन अनुभवलाई कार्यान्वयन गर्दा प्रभावकारी हुने देखिन्छ ।”
जलवायु परिवर्तनसँग जुध्न पनि स्वच्छ ऊर्जा प्रवर्द्धन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले दक्षिण एसियाली मुलुकले पनि हरित ऊर्जातर्फ अघि बढ्नुपर्ने बेला भइसकेको बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले स्वच्छ ऊर्जा प्रवर्द्धन र अन्तरदेशीय कनेक्टिभिटी बढाउनका लागि विभिन्न मुलुकहरुबीच सहकार्य र समन्वयको आवश्यकता रहेको औँल्याउनुभयो ।
उहाँले अन्तरदेशीय विद्युत् व्यापारलाई अझ व्यवस्थित र सरलीकृत गर्न आवश्यक रहेको बताउनुभयो । फलोरेन्स स्कुल अफ रेगुलेसनका कार्यकारी उपनिर्देशक अल्बर्टो पोटोत्स्रिगले अन्तरदेशीय विद्युत् व्यापारको कारणले सहुलियत तथा सस्तो मूल्यमा एक–अर्र्को मुलुकलाई विद्युत् व्यापार गर्ने वातावरण बन्ने बताउनुभयो ।
फ्रान्सका दिगो विकास विभागका निर्देशक निकोलस चेनेटले पछिल्लो समय ऊर्जा सुरक्षा विश्व बजारको मुख्य विषयवस्तु भएको धारणा राख्नुभयो ।









