काठमाडौं । युनाइटेड अरब इमिरेट्स यूएईमा ३० मिलियन दिराम एक अर्ब २३ करोड रुपैयाँको चिठ्ठा प्राप्त गरेका पाँच नेपाली युवाले उक्त रकम नेपाल पठाउन सहयोग मागेका छन् ।
उनीहरूले बिहीबार यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलाई भेटी रकम वैधानिक तरिकाले नेपाल पठाउन सहयोग मागेका हुन् ।
भाग्यशाली चिठ्ठा प्राप्त गर्ने पाँचजना तैयव खान गोरखा सन्दीप बिक पाल्पा, युवराज गैरे नवलपुर शिशिर पौडेल कास्की र सुदीप न्यौपाने रुपन्देहीले यूएईको अबुधावीस्थित नेपाली दूतावास पुगेका थिए ।
‘द यूएई लोट्ट्री’ मार्फत उनीहरूले ३० मिलियन दिरामको चिठ्ठा प्राप्त गरेका थिए ।
राजदूतसँगको भेटघाटमा उनीहरूले चिठ्ठामार्फत प्राप्त रकमलाई वैधानिक रूपमा नेपाल पठाउन र सो रकमलाई नेपालमा लगानी गर्न इच्छुक रहेको बताएको अबुधावीस्थि नेपाली दूतावासले जनाएको छ ।
“उहाँहरूले उक्त रकमलाई वैधानिक रूपमा नेपाल भित्राउन दूतावासमार्फत गर्नुपर्ने आवश्यक सहयोग प्रदान हुने तथा नेपाल सरकारद्वारा सहजीकरण गरिदिन आग्रह गर्नुभयो,” दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भेटघाटमा राजदूत क्षेत्रीले उनीहरूलाई लगानीका विभिन्न सम्भाव्यताहरूको अध्ययन गरी नेपालको विकास र समृद्धिका क्षेत्रमा लगानी गर्न सुझाव दिएका थिए । चिठ्ठामार्फत भएको रकमलाई वैधानिक रूपमा नेपाल पठाउन राजदूतावासको पूर्ण सहयोग रहने राजदूत क्षेत्रीले बताएका थिए ।








