दुई महिनाको प्रशासनिक र प्राविधिक अड्चनपछि नेपाली चियाको भारत निर्यात पुनः सुचारु भएको छ।
भारतको एफएसएसएआईले आयात नीतिमा परिवर्तन गरी जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि नेपाली चिया निर्यात सहज भएको हो।
निर्यात सुचारु भए पनि यो दीर्घकालीन समाधान नभएको भन्दै चिया उद्यमीहरूले तेस्रो मुलुकमा बजार विस्तारको माग गरेका छन्।
काठमाडौँ । विगत दुई महिनादेखि विभिन्न प्रशासनिक तथा प्राविधिक अड्चनका कारण ठप्प प्रायः बनेको नेपाली चियाको भारततर्फको निर्यात पुनः सुचारु भएको छ ।
नेपाल र भारतबिचको सीमावर्ती नाका काँकडभिट्टा हुँदै नेपाली चियाका ट्रकहरू भारतीय बजारका लागि प्रस्थान गर्न थालेका हुन् । मेची भन्सार कार्यालयका अनुसार मंगलबार इलाम टी र समर भ्यालीका चिया बोकेका दुई वटा ट्रक भारततर्फ प्रस्थान गरेसँगै लामो समयदेखि जारी गतिरोधमा ब्रेक लागेको हो ।
यसले विगत केही समयदेखि ठुलो आर्थिक नोक्सानी बेहोरिरहेका नेपाली चिया उत्पादक, किसान तथा व्यवसायीहरूमा नयाँ उत्साह जगाएको छ । दुई देशबिचको कूटनीतिक तथा व्यावसायिक पहलकदमीपछि चिया निर्यातको बाटो खुला भएको अधिकारीहरूले जनाएका छन् ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार पछिल्लो समय चिया बोकेका सवारी साधनहरू सहज रूपमा सीमा पार भइरहेका छन् । भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंलेभने, ‘नाकाबाट चिया निर्यात सुचारु भइसकेको छ । हाल निकासीका लागि कुनै पनि प्रशासनिक वा प्राविधिक कठिनाइ देखिएको छैन ।’
हुमागाईंका अनुसार पछिल्लो दुई दिनमा मात्रै कुल ५ ट्रक चिया नेपालबाट भारततर्फ प्रस्थान गरिसकेको छ । अघिल्लो दिन दुई गाडी र त्यसको भोलिपल्ट दुई–तीन गाडी गरेर चिया निर्यातले गति लिन थालेको हो ।
नेपालतर्फको भन्सार प्रक्रिया पूरा गरेर चियाका गाडीहरू नियमित रूपमा भारत गइरहे पनि भारतीय सिमाना पार गरेपछि त्यहाँको स्थानीय प्रशासन वा भन्सारमा कस्तो व्यवहार हुन्छ भन्ने कुराको सुक्ष्म विवरण भने नेपाल भन्सारसँग रहँदैन । तर नाकाबाट निर्यातमा कुनै विषम व्यवधान नदेखिएको उनले बताए ।
भारतीय नीतिमा लचकताः एफएसएसएआईको नयाँ मापदण्डः
नेपाली चिया निर्यात सहज हुनुको मुख्य कारण भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण ९एफएसएसएआई० ले आफ्नो नीतिमा ल्याएको परिवर्तन हो । एफएसएसएआईले जुन २३ मा चिया आयात सम्बन्धी नयाँ व्यवस्था जारी गर्दै जोखिममा आधारित परीक्षण प्रणाली लागु गरेको छ ।
यस नयाँ नीति अनुसार अब आयात गरिने चियाको शतप्रतिशत परीक्षण गर्नुको सट्टा केवल २० प्रतिशत खेप कन्साइनमेन्टमा मात्र ‘र्यान्डम’ नमुना परीक्षण गरिनेछ । यसअघि भारतले नेपालबाट आयात हुने प्रत्येक खेपको कडा नमुना परीक्षण गर्ने र आयातकर्ताको गोदाममै पुगेर नमुना सङ्कलन गर्ने अव्यावहारिक नियम लागु गरेको थियो । उक्त नियमका कारण प्रयोगशाला परीक्षणको रिपोर्ट आउन लामो समय लाग्ने र चियाको गुणस्तरमा ह्रास आउने हुँदा नेपाली व्यवसायीहरू निर्यात गर्न नसक्ने अवस्थामा पुगेका थिए ।
नयाँ सरलीकृत नीति लागू भएसँगै सीमा नाकामा हुने अनावश्यक ढिलाइ हटेको छ ।
निकासीमा देखिएको निरन्तरको अवरोधका कारण नेपालको पूर्वी पहाडी तथा तराई क्षेत्रका चिया उद्योगहरू धराशायी हुने अवस्थामा पुगेका थिए । झापा र इलामका मात्रै करिब ९९ वटा चिया उद्योग बन्द हुन पुगेका थिए । बजार नपाएर हरियो चियापत्ती बगानमै खेर जान थालेपछि इलामका उद्योगीहरूले असार १ गतेदेखि र झापाका चिया उद्योगीहरूले असार ४ गतेदेखि आफ्ना कारखाना पूर्ण रूपमा बन्द गरी आन्दोलन सुरु गरेका थिए । चिया खेतीमा आश्रित हजारौँ मजदुर र किसानको जीविकोपार्जनमा सङ्कट आएपछि दबाब बढेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कूटनीतिक र प्रशासनिक स्तरबाट पहल गर्ने र समस्याको दीर्घकालीन समाधान खोज्ने ठोस आश्वासन दिएपछि मात्र उद्योगहरू पुनः सञ्चालनमा आएका थिए ।
अर्थोडक्स र सीटीसी चियाको फरक–फरक बजार रणनीतिः
नेपालमा उत्पादन हुने चियालाई मुख्यतया दुई भागमा वर्गीकरण गरेर हेर्ने गरिन्छ– पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चिया र तराई क्षेत्रमा उत्पादन हुने सीटीसी क्रस, टियर, कर्ल चिया ।
हाल पहाडको अर्थोडक्स चियाको निर्यात पूर्ण रूपमा सुचारु भइसकेको छ । नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष एवं चिया निर्यातकर्ता शिव कुमार गुप्ताले पहाडी क्षेत्रको तयारी चिया धमाधम भारत गइरहेको जानकारी दिए ।
अर्कातर्फ, तराईको सीटीसी चिया भने अहिले सीमा पार भइसकेको छैन । तर गुप्ताका अनुसार यो कुनै बाह्य वा कानुनी अवरोधका कारण नभई विशुद्ध व्यावसायिक सौदा र मूल्य भाउ नमिल्दा रोकिएको हो । भारतीय आयातकर्ताहरूले नेपाली चियाको माग गरिरहेका छन् र हाल नमुना आदानप्रदान तथा मूल्य मोलतोलको प्रक्रिया चलिरहेकाले केही दिनभित्रै तराईको चिया पनि सहजै भारततर्फ जाने उनले स्पष्ट पारे ।
लामो समयसम्म निर्यात ठप्प हुँदा नेपाली चिया उद्योगहरूमा तयारी चियाको ठुलो मौज्दात थन्किएर बसेको छ । हाल नेपाल र भारतका विभिन्न गोदाममा करिब १३ लाख किलोग्राम तयारी चिया थन्किएको अनुमान व्यवसायीहरूको छ ।
चिया टिप्ने र प्रशोधन गर्ने मुख्य सिजन चलिरहेका बेला यसरी तयारी चिया थन्किँदा उद्योगीहरूको ठुलो पुँजी फ्रिज भएको छ । तारागाउँ चिया स्टेट र सिद्धेश्वर चिया स्टेटका सञ्चालक उत्तम श्रेष्ठका अनुसार उनको दुई वटा कारखानाहरूमा मात्रै ५० हजार किलोग्राम प्रशोधित तयारी चिया मौज्दात थियो ।
निर्यात सुचारु भएपछि उनको उद्योगबाट हालसम्म १० देखि १५ हजार केजी चिया भारत गइसकेको छ । बिस्तारै अन्य उद्योगहरूको चिया पनि निकासी भइरहेको भए पनि सम्पूर्ण मौज्दात खाली हुन र बजार सन्तुलनमा आउन अझै केही समय लाग्ने देखिएको छ ।









