काठमाडौं। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानद्वारा प्रदान गरिने निजी क्षेत्रको बैंकतर्फको उत्कृष्ट वार्षिक प्रतिवेदन गोल्ड अवार्ड जितेको हो।
यससँगै, बिपिए पुरस्कारको इतिहासमै पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ तथा ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ अन्तर्गत बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ समेत प्राप्त गरेको छ। यस वर्ष पहिलो पटक समावेश गरिएका यी दुई विधा र उत्कृष्ट वार्षिक प्रतिवेदन गोल्ड गरी नबिल बैंक एकैपटक तीनवटा अवार्डबाट सम्मानित भएको हो।
काठमाडौंमा आयोजित समारोहमा आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दीप बाबु पौडेललाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए।
आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा यी अवार्ड प्रदान गरेको जनाएको छ। छनोट प्रक्रियामा वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन तथा दिगोपनालाई प्रमुख मापदण्डका रूपमा समावेश गरिएको थियो। नबिल बैंक यी सबै पक्षमा उत्कृष्ट ठहरिएपछि सम्मानित भएको आइक्यानले जनाएको छ।
यसअघि पनि नबिल बैंकले सन् २०२३ र २०२४ का वार्षिक प्रतिवेदनका लागि यही पुरस्कार प्राप्त गरेको थियो। बैंकको पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बिपिए अवार्डका लागि समेत मनोनित हुने आयोजक संस्थाले जनाएको छ।









