नेवानिको सुधारका लागि निगका पदाधिकारी तथा कर्मचारीले आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्नु पर्ने प्रधानमन्त्रीको तर्क

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउनुपर्ने मान्यताका साथ सरकारले सुक्ष्म अध्ययन तथा विश्लेषण गरिरहेको बताएका छन् ।
निगमको ६८ औं वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले नेपाल वायुसेवा निगम देशको नेतृत्वदायी संस्था हुनुको नाताले सेवा सुधारको पक्षमा पनि अग्रता कायम गर्नुपर्ने बताए।
निगमको सुधारका लागि सबैभन्दा पहिला निगमभित्रका पदाधिकारी तथा कर्मचारीले आफ्नो जिम्मेवारीलाई पूर्ण निर्वाह गर्नुपर्ने प्रधानमन्त्रीको तर्क छ ।
जिम्मेवारी निर्वाहका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थादेखि स्रोत साधनको व्यवस्थापनसम्म सरकार सधै तयार रहेको प्रधानमन्त्रीले बताएका छन् ।
सरकारको आगामी आवको बजेटमा निगमलाई प्रभावकारी र व्यवसायिक बनाउने योजना उल्लेख गरिएको स्मरण प्रधानमन्त्रीले गरेका छन् । बजेटको ९ औं पृष्ठको १६ नम्बर बुँदामा नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने भनिएको प्रधानमन्त्रीले बताएका छन् ।
त्यसलाई सार्थकर्ता दिन सरकारले चाँडै नै आवश्यक कदम चाल्ने समेत प्रधानमन्त्रीले जानकारी गराएका छन् । यसमा सरोकारवाला सबैको सकारात्मक भूमिको समेत अपेक्षा प्रधानमन्त्रीले गरेका छन् । ‘सुशासनलाई मुख्य लक्ष्य बनाएर काम गरिरहेको सरकारलाई निगम भित्रको सुशासनको विषयमा बेलाबेलमा उठ्ने गरेका प्रश्नप्रति गम्भीर चासो रहेको स्पष्ट पार्न चाहन्छु’ प्रधानमन्त्रीले कार्य क्रममा भनेका छन् ।

LEAVE A REPLY