काठमाडौँ, असार १६ गते । मिजो असार १५मा सरकारी र निजीडेरीले मुलुकभर ७५ लाख लिटर दही खपत गराएका छन्।। १५ असारमा दही चिउरा खाने चलन भएकाले दहीको खपत ह्वात्तै बढेको हो । दुग्ध विकास संस्थान डिडिसी र निजी डेरीले एक अर्ब रुपियाँ बराबरको ७५ लाख लिटर दही खपत भएको जनाएका छन् ।
दही चिउरा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । सबैले दही चिउरा खाएर असार १५ मनाउने भएकाले पनि बजारमा दहीको खपत बढी भएको हो । सोमबार उपत्यकाका अधिकांश डेरी पसलमा दहीको कारोबार करिब तीन गुणाले बढेको छ ।
डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले मुलुकभर एक करोड ४० लाख रुपियाँ बराबरको एक लाख लिटर दही खपत भएको जानकारी दिनुभयो । उपत्यकामा ३० हजार लिटर र बाहिरी जिल्लामा ७० हजार लिटर दही खपत भएको उहाँले बताउनुभयो । गर्मी बढेकाले पनि तराईमा दहीको खपत धेरै हुने गर्छ । दही चिउरा खानका लागि घर घरमा दही खरिद गर्ने भएकाले पनि अन्य दिनको तुलनामा कारोबार धेरै हुने गरेको उहाँको भनाइ छ । पछिल्लो समय डिडिसीको कारोबारमा वृद्धि भएको उहाँको भनाइ छ ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले दही चिउरा खाने दिन एक अर्ब रुपियाँ बराबरको दही बिक्री भएको जानकारी दिनुभयो । पछिल्लो समय दही चिउरा खाने चलन बढ्दै गएकाले दहीको खपत पनि धेरै हुने गरेको उहाँको भनाइ छ ।
स्वदेशी दुध तथा दुग्धजन्य पदार्थको प्रयोग बढाउन र नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिन उहाँले आग्रह गर्नुभयो । अध्यक्ष दाहालले नेपाली मौलिक संस्कृति, परम्परा र राष्ट्रिय पहिचानको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न सबैलाई आह्वान गर्नुभयो ।
दही नेपाली खानपानको महत्वपूर्ण परिकार मात्र नभई पोषणयुक्त खाद्य पदार्थ पनि हो । दहीमा प्रोटिन, क्याल्सियम तथा भिटामिन बी–१२ जस्ता पोषक तत्व पाइने भएकाले यसले पाचन प्रणालीलाई सुदृढ बनाउन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पु¥याउने विज्ञको भनाइ छ ।









