१६ असार, काठमाडौं । करिब दुई साताका लागि मात्रै स्टक बाँकी रहेको अवस्थामा नयाँ पासपोर्ट छपाइमा अन्योल देखिएको छ ।
अहिले करिब ५० हजार हाराहारीमा पासपोर्टको पुस्तिका स्टक छ । दैनिक ६ हजार माग भएपनि सरकारले अहिले ३र४ हजारको हाराहारीमा पासपोर्ट वितरण गरिरहेको छ ।
माग र आपूर्तिको यो आँकडा अनुसार अब करिब दुई सातालाई मात्रै पासपोर्ट पुग्ने देखिन्छ । त्यसपछि पासपोर्ट आपूर्तिको मोडालिटीबारे अहिलेसम्म सरकारले स्पष्ट धारणा सार्वजनिक गरेको छैन । पासपोर्टको ठेक्का र आपूर्तिबारे राहदानी विभागदेखि परराष्ट्र मन्त्रालय अनि प्रधानमन्त्री कार्यालयका अधिकारीहरु औपचारिक रुपमा प्रतिक्रिया दिन तयार छैनन् ।
पासपोर्ट छपाईमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालसहित १८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेपछि अन्योल भएको हो ।









