कल्याणपुर सप्तरी वैशाख १४ गते । सप्तरीको महदेवा गाउँपालिका–१ मा आयोजित एकदिने निःशुल्क आँखा तथा कान उपचार शिविरबाट तीन सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।
गायत्री आँखा तथा कान उपचार केन्द्रको आयोजना तथा विराट आँखा अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा आइतबार आयोजित शिविरमा ३२० जना बिरामीले सेवा पाएका हुन् ।
आँखा तथा कानसम्बन्धी रोगका बिरामीहरू आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको केन्द्रका सञ्चालक तथा दृष्टि विशेषज्ञ डा.नन्दकिशोर यादवले जानकारी दिनुभयो ।
शिविरको उद्घाटन गर्दै राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले गरिब तथा विपन्न वर्गलाई लक्षित यस्ता कार्यक्रमबाट स्थानीयले प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य सेवाबाट वञ्चित बिरामीलाई यस्ता शिविरले ठुलो राहत पुग्ने बताउनुभयो ।
शिविरमा डा.नन्दकिशोर यादवसहित विराट आँखा अस्पतालका डा। दिपेश कुमार महतो, डा. इच्छामा लिम्बुलगायत चार सदस्यीय चिकित्सक टोलीले सेवा प्रदान गरेको अस्पतालका प्रतिनिधि अमित कुमार मण्डलले जानकारी दिनुभयो ।
शिविरमा बिरामीको परीक्षण, उपचार तथा निःशुल्क औषधी वितरण गरिएको थियो । साथै, जटिल प्रकृतिका आँखा र कानका बिरामीका शल्यक्रियामा लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।









