काठमाडौ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढंगले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित संविधानविद् तथा कानुनविद्हरूसँगको परामर्श बैठकमा संयोजक शाहले यस्ता भनाइहरूमा कुनै आशंका नगर्न आग्रह गरे ।
पछिल्लो समयमा बाहिर आइरहेको यो भ्रमलाई चिर्दै सबै राजनीतिक दल तथा सरोकारवालाहरुसँगको बृहत् परामर्शबाट नै संविधान संशोधन हुने स्पष्ट पारेका हुन् ।
उनले सरकारको १०० दिने कार्ययोजनाअनुरूप नै संविधान संशोधनका लागि बहसपत्र तयार गर्न उक्त कार्यदल गठन गरिएको पनि स्पष्ट पारे । उनले भने, “वर्तमान संविधानको संशोधन कुनै एउटा राजनीतिक दल वा सरकारको मात्र इच्छाले नभई पूर्णतः राष्ट्रिय सहमतिको आधारमा मात्र सम्भव हुने साझा विषय हो । हामीले तयार पार्ने बहसपत्रमा बृहत् छलफल र बहस हुन्छ र सबैको सहमतिको दस्ताबेज तयार भएपछि मात्र संविधान संशोधन हुने हो ।”
उनले आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वाचापत्रमै संविधान संशोधनको मुद्दालाई प्राथमिकता दिएको बताए । आगामी १५–२० दिनभित्र सरोकारवालाहरूसँग बृहत् छलफल गरी तयार पारिने प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइने उल्लेख गरे ।









