काठमाडौँ । सोमबार बिहान अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजको पांग्रामा आगो लागेपछि केहीबेर अवरुद्व भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ ।
टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाजमा ल्यान्डिङ गर्ने क्रममा आगोको मुस्लो देखिएपछि विमानस्थल क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो । दमकलको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएपछि तनाव कम भएको थियो ।
टायरमा आगो लागे पछि यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा २७७ यात्रु थिए ।
विमानस्थल स्रोत अनुसार सोमबार बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब दुई घण्टापछि सञ्चालनमा आएको हो ।
बिहान ८ः३० बजे एयर इन्डिया र ८ः३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिरहेका छन् ।
धावनमार्गमै रोकिएको सो विमानलाई तानेर पार्किङ वेमा लगिएको छ ।








