काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग पराजित हुँदै एसिAयन गेम्स एसियाली खेलकुदमा सहजै सहभागी हुने पहिलो सुनौलो मौका गुमाएको छ।
शनिबार मलेसियाको बायोमास ओभलमा सम्पन्न एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनलमा घरेलु टोलीसँग २ विकेटले स्तब्ध भएपछि नेपालको फाइनल पुग्ने र सिधै छनोट हुने सपना अधुरो बनेको हो। यद्यपि, नेपालको एसियन गेम्स यात्रा पूर्ण रूपमा समाप्त भने भइसकेको छैन। अब एसियाली खेलकुदमा स्थान सुरक्षित गर्न नेपालले तेस्रो स्थान हासिल गर्नैपर्ने दबाब आइलागेको छ।
प्रतियोगिताको फाइनलमा स्थान बनाएसँगै मलेसिया र थाइल्यान्ड एसियन गेम्सका लागि छनोट भइसकेका छन्। अब नेपालले तेस्रो स्थानका लागि आइतबार भोलि चीनसँग प्रतिस्पर्धा गर्नेछ। एसियन गेम्सको टिकट काट्न नेपाललाई यो खेल जित्नैपर्ने बाध्यता छ।
शनिबार भएको पहिलो सेमिफाइनलमा चीन थाइल्यान्डसँग ८३ रनको विशाल अन्तरले पराजित भएको थियो। यसअघि समूह चरणको खेलमा भने नेपालले चीनलाई १९ रनले हराएको इतिहास छ, जसले गर्दा आइतबारको खेलमा नेपाललाई केही मनोवैज्ञानिक लाभ मिल्न सक्छ।
यस्तो रह्यो खेलको उतारचढावः
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२६ रनको मध्यम योगफल तयार पारेको थियो। नेपालका लागि कप्तान इन्दु बर्माले अविजित रहँदै सर्वाधिक ४६ रनको योगदान दिइन्। त्यस्तै, कविता कुवँरले ३३ रन बनाउँदा रुवि पोडारले १७ र पूजा महतोले १५ रन जोडिन्।
१२७ रनको लक्ष्य पछ्याएको मलेसियाले ८ बल बाँकी छँदै ८ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। नेपालका लागि बलिङतर्फ रिया शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिइन्। त्यस्तै मनिषा उपाध्याय र रुविना क्षेत्रीले समान २२ विकेट तथा सिता राना मगरले १ विकेट लिए पनि टोलीलाई जित दिलाउन त्यो पर्याप्त हुन सकेन।








