प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्यूनिष्टपार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। विगत दुई—तीन दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार बिहान ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।
प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार उनलाई केही दिनदेखि ज्वरो आउने र रूघाखोकी लाग्ने समस्या देखिएको थियो। अस्पतालमा प्रारम्भिक जाँच गर्दा निमोनियाको लक्षण फेला परेकाले चिकित्सकहरूको सल्लाह अनुसार केही दिन अस्पतालमै राखेर उपचार प्रक्रिया अघि बढाइएको आचार्यले जानकारी दिए।
स्वास्थ्यमा अचानक आएको यही गम्भीरताका कारण संयोजक प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवसको विशेष समारोहमा समेत सहभागी हुन सकेका थिएनन्। त्यसैगरी, शुक्रबार नै दिउँसो सरकारले संघीय संसदमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा समेत उनी संसद बैठकमा अनुपस्थित रहेका थिए।
अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र विशेषज्ञ चिकित्सकहरूको टोलीले निरन्तर निगरानी गरिरहेको छ। केही दिनको आराम र उपचारपछि उनी नियमित राजनीतिक कार्यमा फर्किने सचिवालयले जनाएको छ।

LEAVE A REPLY