राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट जनाउदै आएकामहामन्त्री डा. धवलशमशेर राणा पक्षले सामूहिक राजीनामा दिई नयाँ दल गठन गर्ने तयारी गरेको छ ।
काठमाडौंमा आयोजित असन्तुष्ट पक्षको बैठकले सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान शुरू गर्दै जेठ २१ गते नयाँ निर्णय लिने तयारी गरेको छ ।
पार्टीभित्रको विवादपछि पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त अपिल जारी गर्दै पार्टी नछाड्न आग्रह गरेका छन् ।
असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका नेता डा .धवलशमशेर राणाले नयाँ अभियान घोषणा गरी नयाँ शक्ति गठन गर्ने पहल सुरु समेत गरेका छन् ।
राप्रपाको आधारभूत वैचारिक आदर्शबाट मूल नेतृत्व विचलित भएको निष्कर्षमा संस्थापनइतर पक्ष पुगेको छ । गणतन्त्रको बदलामा संवैधानिक राजसंस्था सहितको संसदीय व्यवस्था पुनर्स्थापना गर्न राप्रपाको सम्पूर्ण पार्टी पंक्ति संघर्षरत रहँदै आए पनि मूल नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनआरोपका कारणले मुद्दा कमजोर भएको असन्तुष्ट पक्षको ठहर छ ।
महामन्त्री राणाको नेतृत्वमा संगठित भएको असन्तुष्ट पक्षले ‘सत्ताकेन्द्रित होइन, सिद्धान्त र जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुनेछ’ भन्ने मूल मर्म नेतृत्वले आत्मसात नगरेको आरोप सस्थापन इतर पक्षको छ ।
देशभरिका राष्ट्रवादी, हिन्दुवादीलाई बदलिँदो राजनीतिक परिस्थितिअनुसार एकीकृत हुन आह्वान गर्ने निष्कर्ष असन्तुष्ट पक्षले निकालेको छ । असन्तुष्ट पक्षका नेता रञ्जन कार्कीले भने, ‘राष्ट्रिय प्रजातन्त्रबाट यो—यो कार्य हुन नसकेको हुँदा यो कारणले नयाँ शक्ति जन्मिनु आवश्यक रहेको सबैलाई जानकारी गराउँछौं । नयाँ परिस्थितिमा नयाँ तरिकाले एकीकृत आह्वान गरेर नयाँ शक्ति बनाउँछौं ।’
राप्रपाबाट अलग भई बन्ने नयाँ दलमा युवा पुस्तालाई अधिकतम समेट्ने गरी छलफल भएको छ । नयाँ पुस्तालाई राष्ट्रवादी, हिन्दुवादी कसरी बनाउने त्यसमा गृहकार्य गर्नुपर्ने र अभियान सुरु गर्नुपर्ने विचारहरू असन्तुष्ट पक्षको बैठकमा आएका थिए ।
पार्टी नीतिविपरीत केन्द्रीय सरकार र प्रदेशमा सभामुख लिएकोप्रति समेत असन्तुष्ट पक्ष रुष्ट बनेको छ । राप्रपाबाट कोशीमा अम्बरबहादुर विष्ट र बागमतीमा भुवन पाठक सभामुख बने भने लुम्बिनीमा मेनुका खाँण केसी उपसभामुख पदमा थिइन् ।
पार्टीभित्र संकट चुलिँदै गएपछि तीन पूर्वअध्यक्षले विज्ञप्ति निकालेर पार्टी छाड्न वा पलायन नहुन अपिल गरेका छन् । पूर्वअध्यक्षत्रय पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले वक्तव्यमा भनेका छन्, ‘आगामी जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति निश्चित गर्ने केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरिसकेको छ । तोकिएको समयमै महाधिवेशन हुने कुरामा कुनै शङ्का नगरौं ।’







