काठमाडौँ । विभिन्न आरोह अवरोध पार गर्दै अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० विभाजित हुन पुगेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले नीतिप्रति असहमति व्यक्त गर्दै महामन्त्री धवल शमशेर राणासहित १८२ जना विभिन्न तहका नेताले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । राप्रपा छोड्ने प्रमुख नेताहरुमा राणासहित उपाध्यक्ष मुकुन्द्रश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, सगुन लावती, केशवराज श्रेष्ठ,नारायण प्रसाद कोइरालालगायत रहेका छन् । राप्रपाबाट अलग भएका राप्रपा केन्द्रीय सदस्य धनसुर शाहीले राजेन्द्र लिङदेनसँग दबिएर बस्नुभन्दा नयाँ पार्टी खोल्नु उपयुक्त हुने ठानेर त्यसतर्फ लागेको बताए । गत निर्वाचनमा पार्टीको अवस्था खस्कनुमा लिङदेननै जिम्मेवार रहेको उनले बताए । उनले भने– ‘कि त अध्यक्षबाट राजिनामा दिनु पथ्र्यो कि समयमै महाधिवेशन गर्नुपथ्र्यो ।’
पूर्वमन्त्री दिलनाथ गिरीले भने– ‘हामीले राप्रपा छोडे पनि राप्रपाभन्दा शक्तिशाली पार्टी बनाउन हामीले राप्रपा छोडेका हौं ।’ उनले नयाँ पार्टी निर्माणको चरणमा आफुहरु रहेको स्पष्ट पारे ।
अर्का नेता सगुन लावतीले राप्रपा छोड्नुको विकल्प नरहेको बताउदै भने– ‘कि राजेन्द्र लिङ्देनसँग दविएर बस्नुपर्यो कि अर्को राष्ट्रवादी शक्तिशाली पार्टी निर्माण गर्नुपर्यो, हामीले दोस्रो विकल्प रोजेका हौं ।’








