२८ जेठ, विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति ९२२ केजी गाँजासहित एउटा पिकअप गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो
लक्ष्मनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीलाई बिआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकलले स्कटिङ गरिरहेको अवस्थामा प्रहरीले पिछा गरेको थियो । सुरक्षाकर्मीले पिछा गरेपछि चालकहरू गाडी र मोटरसाइकल छाडेर फरार भएका थिए ।
पिकअप गाडीभित्र धानको भुसको बोराले छोपेर लुकाइएको अवस्थामा २९ पोका गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा, गाडी र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा बुझाएको छ ।









