चलचित्र ‘गौँथली’को गीत ‘आँखा भरी आँसु’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘गौँथली’को गीत सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रको गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरेको हो
सार्वजनिक गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ । संगीत पनि थानेश्वर स्वयंको छ । गीतमा शब्दरचना डा। भोला रिजालको छ ।
गीतीको भिडियोमा चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्कालगायत कलाकार छन् । यो गीत सार्वजनिक कार्यक्रममा गीतमा देखिएझैँ अरुण र सिम्रन बेहुला र बेहुलीको भेषमा पुगेका थिए ।
गीतले माइतीघर छोडेर पराइ घर जानु पर्दाको दुखद् क्षण समेटेको छ । आफू जन्मे हुर्केको घर, गाउँ, आमा, बुवा तथा आफन्तलाई चटक्क छोडेर विवाह गरेर अर्कैको घर जाँदाको वियोग गीतमा उल्लेख छ ।
कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदै छ ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा.भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा। कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।
चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

LEAVE A REPLY