घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आइतबारदेखि ललितपुरमा हुँदै

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी आइतबारदेखि ललितपुरमा शुरु हुने भएको छ ।
स्थापनाको ३६ वर्ष पूरा गरी ३७ औँ वर्षमा प्रवेश गर्न लागेको महासंघ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । जेठ २४ र २५ गते हुने महाधिवेशनमा देशभरका उद्यमीहरूको सहभागितासँगै उद्योग क्षेत्रका समसामयिक मुद्दामाथि व्यापक बहस हुने महासंघका अध्यक्ष उमेश प्रसाद सिँहले जानकारी दिनुभयो ।
महासंघले २०४७ सालमा स्थापना भएदेखि लघु, घरेलु तथा साना उद्यमीहरूको हकहित संरक्षण, उद्यमशीलताको विकास तथा महिला उद्यमीहरूको नेतृत्व क्षमता अभिबृद्धिका क्षेत्रमा कार्य गर्दै आएको उहाँले बताउनुभयो । हाल महासंघको संगठन सात सात वटै प्रदेश, ७७ वटै जिल्ला र तीन सय भन्दा बढी पालिकामा विस्तार भएको छ । साथै केन्द्रीय महिला उद्यमी समिति अन्तरगत सात प्रदेश, ६२ जिल्ला तथा विभिन्न पालिकाहरूमा महिला उद्यमी समितिहरू सक्रिय रहेको अध्यक्ष सिँहले बताउनुभयो ।
महासंघका अनुसार महाधिवेशनमा देशभरका सातै प्रदेश र ७७ वटै जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक तथा महिला उद्यमी प्रतिनिधिसहित करिब एक हजार जनाको सहभागिता रहने बताइएको छ । सम्मेलनले महासंघको संगठनात्मक सुदृढीकरण, विगतका गतिविधिको समीक्षा, भावी कार्यदिशा निर्धारण तथा लघु, घरेलु र साना उद्योग क्षेत्रका चुनौती र अवसरबारे व्यापक छलफल गर्ने अपेक्षा गरिएको महासंघका उपाध्यक्ष शेभा गुरुङले बताउनुभयो ।
महासंघ तथा केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गरिने महाधिवेशनबाट महिला उद्यमशीलता विकास, आर्थिक सशक्तीकरण, नवप्रवर्तन तथा बजार पहुँच विस्तारका विषयमा महत्वपूर्ण योजना र कार्यक्रम तय गरिने उपाध्यक्ष गुरुङले बताउनुभयो । महाधिवेशन अवधिभर उद्यमीहरूले उत्पादन गरेका नेपाली वस्तुहरूको प्रदर्शनीसमेत आयोजना गरिनेछ ।
महासंघले कार्यक्रमको सफल आयोजनाका लागि विभिन्न उपसमितिहरू गठन गरी आवश्यक तयारी पूरा गरिसकेको जनाएको छ । कार्यक्रमलाई भव्य, सभ्य तथा उपलब्धिमूलक बनाउन सरोकारवाला निकाय तथा सञ्चारमाध्यमको सहयोग र सहभागिताको अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवाल, महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले महाधिवेशनको तयारी बारे आफ्ना भनाई राख्नुभएको थियो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु मुकेश उपाध्याय, चन्दनकृष्ण श्रेष्ठ, हरिहर थापा, शान्ता बास्कोटा, कोषाध्यक्ष अच्युत पाण्डे, महासंघ महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाललगायतका केन्द्रिय पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
बजेटप्रति धारणा सार्वजनिक
यसैबीच, महासंघले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३र८४ को बजेटप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ । महासंघले बजेटलाई समग्रमा स्वागत गर्दै यसले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन तथा निजी क्षेत्रको मनोबल अभिबृद्धिमा सकारात्मक योगदान पु(याउने विश्वास व्यक्त गरेको छ ।
यद्यपि, लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका विषयमा बजेटले पर्याप्त ध्यान दिन नसकेको महासंघको गुनासो छ । उद्योग तथा व्यवसायमैत्री कर नीति, उद्यमशीलता विकास कार्यक्रम, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, उत्पादन तथा रोजगारी बृद्धि, ऊर्जा र पूर्वाधार विकासलाई सकारात्मक पक्षका रूपमा लिइएको महासंघले जनाएको छ ।
बजेटमा घोषणा गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, सहज वित्तीय पहुँच, घरेलु उत्पादनको संरक्षण तथा प्रवद्र्धन, युवा तथा महिला उद्यमीलाई विशेष सहुलियत, सीप विकास र बजार व्यवस्थापनका कार्यक्रमलाई व्यवहारमा लागू गर्न सरकारसँग आग्रह गरेको महासंघका अध्यक्ष सिँहले जानकारी दिनुभयो ।
निर्माण सामग्री, ऊर्जा तथा ढुवानी लागतमा भएको बृद्धिका कारण साना उद्योग व्यवसायीले भोगिरहेका समस्यालाई सम्बोधन गर्न थप नीतिगत तथा कार्यक्रमगत पहल आवश्यक रहेको महासंघको धारणा छ । साथै स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने स्पष्ट कार्ययोजना कार्यान्वयनमा ल्याउन पनि महासंघले सरकारसँग आग्रह गरेको छ ।
महासंघले सरकारसँग सहकार्य गर्दै आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यकः
ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका बेला घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक रहेको सरोकारवालाहरुले औँल्याएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आइतबारदेखि यहाँ शुरु भएको २६औं राष्ट्रिय महाधिवेशन तथा २३ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले उद्योग क्षेत्र पुनर्जीवनका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
तीन तहका सरकारबीचको समन्वय अभाव, पुराना कानुन र नीतिगत अस्थिरताले घरेलु तथा साना उद्योग क्षेत्र प्रभावित भएको उनीहरुको भनाई थियो ।
सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले घरेलु तथा साना उद्योगको विकास मुलुकको आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधार भएको बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर बजार विस्तार गर्नुपर्नेमा जोड दिँदै कर्णालीका राडीपाखी, अल्लोलगायत स्थानीय उत्पादनको प्रभावकारी ब्रान्डिङ र बजारीकरण आवश्यक रहेको धारणा राख्नुभयो ।
सचिव निरौलाले सरकारी निकायमा हुने बारम्बारको कर्मचारी सरुवाले नीतिगत निरन्तरतामा असर परेको उल्लेख गर्दै सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वयको आवश्यकता औँल्याउनुभयो । उहाँले संविधानअनुकूल कानुन परिमार्जन, उद्योगमैत्री नीति निर्माण, सार्वजनिक खरिदमा स्थानीय उत्पादनलाई प्राथमिकता तथा सार्वजनिक–निजी साझेदारी (पीपीए० मोडललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिँहले वर्तमान आर्थिक मन्दीका कारण उद्योग व्यवसाय प्रभावित भएको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले लघु, घरेलु तथा साना उद्योगीहरूको हकहित संरक्षण, रुग्ण उद्योगहरूको पुनरुत्थान तथा उद्योगमैत्री नीति निर्माणका लागि महासंघले निरन्तर सरकारसँग पहल गर्दै आएको बताउनुभयो ।
अध्यक्ष सिँहका अनुसार हाल देशभर सञ्चालनमा रहेका लघु तथा साना उद्योगहरूले ३२ देखि ४० लाख मानिसलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेका छन् ।
महासंघले २०४७ सालमा स्थापना भएदेखि लघु, घरेलु तथा साना उद्यमीहरूको हकहित संरक्षण, उद्यमशीलताको विकास तथा महिला उद्यमीहरूको नेतृत्व क्षमता अभिबृद्धिका क्षेत्रमा कार्य गर्दै आएको उहाँले बताउनुभयो । हाल महासंघको संगठन सात सात वटै प्रदेश, ७७ वटै जिल्ला र तीन सय भन्दा बढी पालिकामा विस्तार भएको छ । साथै केन्द्रीय महिला उद्यमी समिति अन्तरगत सात प्रदेश, ६२ जिल्ला तथा विभिन्न पालिकाहरूमा महिला उद्यमी समितिहरू सक्रिय रहेको अध्यक्ष सिँहले बताउनुभयो ।
देशभरका जिल्ला तथा प्रदेशबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको दुईदिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्ययोजना र नीतिगत दिशा तय गर्ने महासंघले जनाएको छ ।
महासंघ तथा केन्द्रीय महिला उद्यमी समितिको आगामी तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गरिने महाधिवेशनबाट महिला उद्यमशीलता विकास, आर्थिक सशक्तीकरण, नवप्रवर्तन तथा बजार पहुँच विस्तारका विषयमा महत्वपूर्ण योजना र कार्यक्रम तय गरिने जनाइएको छ ।
उद्घाटन समारोहमा महासंघका सल्लाहकार वासु गिरी, महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष पाण्डे, महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवाल, महासंघका महासचिव डम्बर प्रसाद रेग्मी, महासंघ महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतले आफ्ना भनाई राख्नुभएको थियो ।

LEAVE A REPLY