काठमाडौ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ ।
प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो । साथै क्वाटरफाइनलमा सबै टिमको प्रतिद्वन्दी पनि तय भइसकेको छ
क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ६ टिम पुग्दा दक्षिण अमेरिका र अफ्रिकाबाट १—१ टिम मात्र पुगेका छन् ।
कीर्तिमानी पाँच पटकको विजेता ब्राजिलसँगै तीनवटै आयोजक राष्ट्रहरु अमेरिका, मेक्सिको र क्यानडा भने अन्तिम १६ बाटै बाहिरिए । यस्तै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरियो
साविक विजेता अर्जेन्टिनासहित पुर्व विजेताहरु फ्रान्स, स्पेन र इंग्ल्यान्डले पनि अन्तिम ८ मा स्थान बनाएका छन् ।
अब एक दिनको ब्रेकपछि क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछन् ।
रोमाञ्चक प्रिक्वाटरफाइनलः
२३औं संस्करणको विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरु निकै रोमाञ्चक, प्रतिस्पर्धात्मक र नाटकिय बन्यो । जहाँ साविक विजेता अर्जेन्टिनाले लेट कमब्याक गर्दा कीर्तिमानी पाँच पटकको विजेता ब्राजिल पराजित हुँदै बाहिरियो । डार्क हर्स टिमहरु नर्वे र मोरक्कोले पनि इतिहास रच्दा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि स्पेनसँग पराजित हुँदे बाहिरियो ।
प्रिक्वाटरफाइनलको पहिलो खेलमा अफ्रिकन पावर हाउस मोरक्कोले सहआयोजक क्यानडालाई ३(० ले हराएर लगातार दोस्रो पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान बनायो । चार वर्षअघि मोरक्कोले सेमिफाइनल पुग्दै इतिहास रचेको थियो ।
घरेलु मैदानमा इतिहास रच्दै नकआउट चरण पुगेको क्यानडाको यात्रा अन्तिम १६ मै समाप्त भयो ।
अर्को खेलमा साविक उपविजेता फ्रान्सले किलियन एमबाप्पेको पेनाल्टी गोलमा जायन्ट किलर पाराग्वेलाई १—० ले हरायो ।
यस्तै वर्तमान विश्व फुटबलका घातक स्ट्राइकर हालान्डले अन्तिम समयमा दुई गोल गरेपछि ब्राजिललाई २—१ ले हराएर नर्वेले पहिलो पटक क्वाटरफाइनलमा स्थान बनायो । ब्राजिल भने ३६ वर्षपछि विश्वकपमा क्वाटरफाइनल पुग्न असफल रह्यो ।
इंग्ल्यान्डले रोमाञ्चक खेलमा दश खेलाडीमा रहेर पनि सहआयोजक मेक्सिकोलाई ३—२ ले हराउँदै क्वाटरफाइनमला स्थान बनायो ।
अर्को प्रिक्वाटरफाइनलमा मिकेल मेरिनोले इन्जुरी टाइममा गोल गरेपछि स्पेनले छिमेकी पोर्चुगललाई १—० को झिनो अन्तरले हराएर अन्तिम आठमा स्थान बनायो ।
आयोजक राष्ट्रहरु बाहिरिने क्रमले निरन्तरता पाउँदा अमेरिका बेल्जियमसँग घरेलु मैदानमै ४—१ ले पराजित भयो । समूह चरढमा संघर्ष गरेपनि बेल्जियमले नकआउट चरणका खेलमा भने शानदार प्रदर्शन गरिरहेको छ ।
साविक विजेता अर्जेन्टिनाको लागि भने नकआउट चरणका खेलहरु चुनौतीपूर्ण बनिरहेको छ । अन्तिम ३२ को खेलमा नवप्रवेशी केप भर्डेलाई अतिरिक् समयमा ३—२ ले पराजित गरेको अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा अर्को अफ्रिकी राष्ट्र इजिप्ट विरुद्ध दुई गोलले पछि परेको स्थिती उल्टाउँदै ३—२ को पुनरागमन जित हात पारेको हो ।
यस्तै अन्तिम प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टीसुटबउटमा ४—३ ले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीसुटआउटबाट नतिजाको टुङ्गो लागेको हो ।
क्वाटरफाइनल समिकरणः
क्वाटरफाइनलको पहिलो खेल साविक उपविजेता फ्रान्स र २०२२ को सेमिफाइनलिस्ट मोरक्कोबीच हुनेछ । यी दुई टोली चार वर्षअघि कतारमा सेमिफाइनलमा भिडेका थिए । जहाँ फ्रान्स मोरक्कोलाई २—० ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । यस पटक त्यस खेलको रिम्याच जस्तै हुनेछ ।
यस्तै सन् २०१० को विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वाटरफाइनलमा खेल्नेछ । स्पेन १६ वर्षपछि र बेल्जियम ८ वर्षपछि विश्वकपको क्वाटरफाइनल पुगेका हुन् । सन् २०१० मा दषिण अफ्रिकामा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यसयता पहिलो पटक क्वाटरफाइनल खेल्दैछ । बेल्जियम भने सन् २०१८ मा चौथो भएको थियो र २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।
यसैगरी पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वाटरफाइनलमा सन् १९६६ को विश्वकप विजेता इंग्ल्यान्डको सामना गर्नेछ । २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । सन् १९६६ को विजेता इंग्ल्यान्डले भने त्यसयता फाइनल समेत पुग्न सकेको छैन ।
यस्तै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्ड अन्तिम क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । १९औं पटक विश्वकप खेलिरहेको अर्जेन्टिनाले ६ पटक फाइनल खेल्दा ३ पटक विश्वकप उपाधि जितेको छ र ६४ वर्षपछि विश्वकपको उपाधपि रक्षा गर्ने पहिलो टिम बन्ने लक्ष्यमा छ । स्विट्जरल्यान्ड ७२ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
गोल्डेन बुटको होडः
सेमिफाइनल पुग्ने प्रतिस्पर्धासँगै खेलाडीहरुबीच व्यक्तिगत अवार्डको रुपमा रहने गोल्डेन बुटको लागि पनि तिव्र प्रतिस्पर्धा भइरहेको छ ।
अहिलसम्म लियोनल मेसी ८ गोलसहित सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् । फ्रान्सका कप्तान किलियन एमबाप्पे र नर्वेका स्ट्राइकर एर्लिङ हालान्डले समान ७ गोल गरेका छन् । एमबाप्पे ले २ असिस्ट समेत गरेका छन् ।
मेसीले यस विश्वकपमा खेलेको सबै ५ खेलमै गोल गरिरहेका छन् भने हालान्डले पनि आफूले खेलेको सबै खेलमा गोल गरेका छन् ।
टिमलाई आवश्यक पर्दा जस्तोसुकै अवस्थामा पनि यी खेलाडी गोल गर्न सक्छन् । तीन खेलाडीलाई पछ्याइरहेका इंग्ल्यान्डका कप्तान ह्यारी केनले ६ गोल गरेका छन् ।
क्वाटरफाइनलमा हालान्डको नर्वे र केनको इंग्ल्यान्ड भिड्ने भएकोले यी दुई खेलाडीबीचको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा छ ।
हालान्ड र केन मध्ये एक खेलाडी मात्र गोल्डेन बुटको होडमा कायम रहँदा एक बाहिरिनेछन् । सेमिफाइनल हुँदै फाइनलसम्म पुग्दा यो होडमा रहने खेलाडीको संदख्या अझै घट्न सक्छ । तर अहिलेका लागि भने गोल्डेन बुटको होड तात्तिएको छ । यसमा ४ गोल गरेका फ्रान्सका उसमान डेम्बेले र स्पेनका मिकेल ओयाजाबाल पनि दाबेदारको रुपमा छन् ।









