काठमाडौं । बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा आज निधन भएको छ । वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचाररत उनको शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा मृत्यु भएको हो ।
उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा। पियुष दाहालका अनुसार अस्पताल ल्याउँदा नेपालीको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो । उनलाई अस्पतालमा दुई घण्टाजति आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो ।
त्यसपछि वीर अस्पतालकै बर्न वार्डमा सारिएको थियो । डा. दाहालका अनुसार उनको उपचारको क्रममा दुइपटक कार्डियोपल्मोनरी रिससिटेसन सीपीआर गरिएको थियो ।
दाहालले भने, “नेपालीको शरीरमा आगोको धुवाँ र तातो हावा श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुगेकाले इनहेलेसन इन्जुरी पनि भएको थियो, जसका कारण उनलाई सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौँ ।”
नेपालीको पहिलोपटक केही समयको लागि सीपीआर सफल भएको चिकित्सकले बताए । “पहिलोपटक उहाँको सीपीआर सफल भएको थियो, तर दोस्रोपटकको सीपीआरपछि पनि अवस्था सुधार हुन सकेन,” उनले भने ।
गणेशले बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडिको सडकमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।









