चितवनमा आधी नै घट्यो सवारी दुर्घटना, मृत्यु पनि १२.५ प्रतिशत मात्रै

चितवनमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा ५०.२८ प्रतिशतले कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्कले देखाएको छ ।
दुर्घटना घट्दा मृत्यु हुनेको संख्यामा १२.५ प्रतिशतले कमी आएको ट्राफिक प्रहरी प्रमुख अनिल थापाले उल्लेख गर्नुभयो ।
प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको र भित्री सडकहरूमा बढी लापरवाही हुने गरेको पाइएको छ ।
ट्राफिक प्रहरीले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिएको छ । दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या घट्नु उत्साहजनक भए पनि यो अवस्थालाई कायम राख्नु चुनौतीपूर्ण रहेको प्रहरीको भनाइ छ ।
गत आर्थिक वर्ष २०८२र०८३ मा चितवनमा ५४५ वटा सवारी दुर्घटना हुँदा १०५ जनाको मृत्यु, ९७ जना गम्भीर र ९०८ जना सामान्य घाइते भएका थिए । अघिल्लो आर्थिक वर्ष २०८१र०८२ मा १ हजार ५० दुर्घटनामा १२० जनाको मृत्यु, १७२ जना गम्भीर र १ हजार ७०५ जना सामान्य घाइते भएका थिए ।
त्यसअघि आर्थिक वर्ष २०८०र०८१ मा ४४५ दुर्घटनामा ११५ जनाको मृत्यु, १५० जना गम्भीर र ६८२ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७९र०८० मा ३०३ दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो । त्यसयता दुर्घटना र मृत्युदर बढ्दै गए पनि गत आर्थिक वर्ष भने उल्लेख्य सुधार देखिएको हो
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष दुर्घटनाको संख्या ५०।२८ प्रतिशत, मृत्यु १२.५ प्रतिशत र गम्भीर घाइते ४३.६ प्रतिशतले घटेका छन् ।
अघिल्लो वर्ष दुर्घटनामा १ हजार ६१० जना परेका थिए भने गत वर्ष यो संख्या ७९० मा झरेको छ ।
गत वर्ष दुर्घटनामा मृत्यु हुने १०५ जनामध्ये ७३ पुरुष, २८ महिला र ४ बालबालिका थिए । मृत्यु हुनेमध्ये करिब ७२ प्रतिशत पुरुष छन् । तथ्याङ्कअनुसार २० देखि ४० वर्ष उमेर समूह सबैभन्दा बढी दुर्घटनामा पर्ने गरेको छ । सवारीसाधनमध्ये मोटरसाइकल दुर्घटनामा सबैभन्दा धेरै ५२ जनाको मृत्यु भएको छ भने १८ पैदलयात्रीले ज्यान गुमाएका छन् ।
तीव्र गति दुर्घटनाको मुख्य कारण
गत आर्थिक वर्ष चालकको लापरबाहीबाट १२१, ओभरटेक गर्दा २८, तीव्र गतिका कारण २०९, मादक पदार्थ सेवन मापसे का कारण ३५, यात्रुको गल्तीका कारण ९७ तथा सडकको अवस्थाका कारण ३५ दुर्घटना भएका थिए ।
प्रहरीका अनुसार कुल दुर्घटनामध्ये ३८ प्रतिशत तीव्र गति, २२ प्रतिशत चालकको लापरवाही र १७ प्रतिशत यात्रुको गल्तीका कारण भएका छन् ।
भित्री सडकमा अझै बढी दुर्घटनाः
जिल्ला ट्राफिक प्रहरी कार्यालयले चितवनका सडकलाई पूर्व–पश्चिम राजमार्ग लोथर–पुल्चोक, नारायणगढ–मुग्लिन सडक, पृथ्वी राजमार्ग मुग्लिन–फिस्लिङ, शहरी सडक र भित्री सडक गरी वर्गीकरण गरेर दुर्घटनाको विश्लेषण गर्ने गरेको छ । तथ्याङ्कअनुसार भित्री सडकमा दुर्घटना सबैभन्दा बढी हुने गरेका छन्
गत आर्थिक वर्ष भित्री सडकमा २८३ दुर्घटना हुँदा ४१ जनाको मृत्यु र ४७ जना घाइते भएका थिए । अघिल्लो वर्ष यहीं ५७७ दुर्घटना हुँदा पनि ४१ जनाको मृत्यु भएको थियो ।

 

LEAVE A REPLY