३ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी विभाजनको संघारमा पुगेका बेला फेरि एक पटक पार्टीभित्रको एकताका लागि पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, सदस्य, प्रदेश समितिका सभापति, जिल्ला सभापतिसहितको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भएको भन्दै आफ्नो पक्षबाट राखिएका ५ बुँदे प्रस्ताव सार्वजनिक गरेको हो ।
‘पार्टी एकताको विषयलाई लिएर नियमित महाधिवेशनका पक्षधरहरूले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्तावहरू अघि सारेर एकतालाई असहज बनाए भनि चलाएका बजार हल्लाहरू निराधार, मिथ्या र भ्रामक छन्,’ बैठकपछि नेता मीन विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पार्टी उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत निवर्तमान कार्यबाहक सभापतिलाई पठाएका प्रस्तावहरू माथि नै हामीले २०८३ जेष्ठ १८ गते नै औपचारिक छलफल गरी अधिकतम सहमति गर्न सकिने किसिमका प्रस्तावहरू सहित जवाफ पनि दिएका हौँ ।
त्यतिबेला पठाएको पाँच बुँदे प्रस्ताव प्रेस विज्ञप्तिमार्फत नै सार्वजनिक गरिएको छ
यस्ता छन् पाँच प्रस्तावः
१. चौधौं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।
२. सभापति गगनकुमार थापाको बहुमत रहनेगरी कार्यसम्पादन समिति बनाउने ।
३. पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।
४. वर्तमान संस्थापन पक्षको वहुमत रहनेगरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने ।
५. महाधिवेशनको लागि सबैभन्दा महत्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टीभित्र विवाद हुनुपहिले नै वर्तमान सभापति गगनकुमार थापा तत्कालीन महामन्त्री संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५ औं महाधिवेशनमा स्वतः सहभागि हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने–नपाउने विषयसँग नजोड्ने ।








