बाढीपहिरोका कारण हेटौडा जाने बाटो बन्द

३ साउन, काठमाडौं । बाढीपहिरोका कारण बीपी राजमार्ग र कान्तिलोकपथ बन्द भएको छ ।
कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरमा पहिरो खस्दा सवारी आवागमन रोकिएको छ । प्रहरीका अनुसार चापागाउँ हुँदै हेटौंडातर्फ जाने बाटो बन्द छ ।
यस्तै बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा र रोशी खोलामा पानीको बहाव बढ्दा सवारी आवागमन पूर्णरुपमा रोकिएको छ । जोखिमका कारण काभ्रे हुँदै सिन्धुलीतर्फ जाने बाटोमा प्रहरीले सवारी साधनहरुलाई होल्ड गरेको छ ।
अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पहिरो जाँदा र भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडक भासिदा सवारी आवागमन प्रभावित भएको छ ।
पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा गएराति खसेको पहिरो भने हटाइएकाले दुईतर्फी नै सवारी साधन चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौं सडकखण्डमा भने कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY