नागढुङ्गा, साउन ३ गते । बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गभित्र एउटा अनुपम दौड तथा पदयात्राको आयोजना गरिएको छ । मुलुकको सडक यातायात क्षेत्रमा भएको यो महत्वपूर्ण उपलब्धिलाई थप स्मरणीय बनाउन सुरुङभित्रै दौड तथा पदयात्राको आयोजना गरिएको हो ।
सञ्चालनको पूर्वतयारी, प्रवर्धन तथा सर्वसाधारणमा जनचेतना जगाउने उद्देश्यले समेत काठमाडौँ र धादिङ जोड्ने यस सुरुङमार्गमा ‘नागढुङ्गा टनेल फन, रन एन्ड वाक २०२६’ को आयोजना गरिएको आयोजकले जनाएका छन् । नेपाल सरकार सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोगजाइकाद्वारा शनिबार सुरुङमार्गको पूर्वी पोर्टलमा संयुक्त रूपमा आयोजित सो कार्यक्रममा सर्वसाधारण नागरिक, धावक, सञ्चारकर्मी, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग तथा जाइकाका प्रतिनिधिहरूको सहभागिता थियो ।
नेपालका राष्ट्रिय म्याराथन रेकर्ड होल्डर धावक वैकुण्ठ मानन्धरको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सर्वसाधारणलाई नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गभित्र दौडने र हिँड्ने एक दुर्लभ र विशेष अवसर थियो । धावक मानन्धरको सहभागिताले यो ऐतिहासिक अवसरको उत्सवलाई अझ महत्वपूर्ण बनाएको थियो । दौडमा ४४० जनाको सहभागिता थियो ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले नागढुङ्गा परियोजनाको सम्पन्नतालाई स्मरण गर्न तथा सुरुङमार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्धन गर्ने उद्देश्यले यस दौड तथा पदयात्राको आयोजना गरिएको बताउनुभयो । उहाँले यस कार्यक्रमले सहभागीहरूलाई मुलुकको पहिलो अत्याधुनिक सडक सुरुङमार्गको प्रत्यक्ष अनुभव गर्ने दुर्लभ अवसर प्रदान गर्नुका साथै सार्वजनिक जागरण र राष्ट्रिय रूपमा महत्वपूर्ण सम्पत्तिप्रतिको स्वामित्वको भावनासमेत जगाएको विश्वास गरिएको बताउनुभयो । बर्सौंको समर्पित प्रयास, प्राविधिक नवीनता र विभिन्न चुनौतीलाई सफलतापूर्वक पार गरेपछि अब यो सुरुङमार्ग एउटा महत्वपूर्ण यातायात लिङ्कको रूपमा सेवा गर्न तयार भएको छ । यसले मुलुकको सडक सम्पर्ककनेक्टिभिटीमा सुधार, सडक सुरक्षा वृद्धि, यात्राको समय घट्नुका साथै मुलुकको सामाजिक–आर्थिक विकासमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।
सो अवसरमा दौड र पदयात्रामा सहभागीहरूलाई सुरुङमार्गका मुख्य सुरक्षा विशेषताहरू, सुरुङको उचित प्रयोगका अभ्यास, आपत्कालीन प्रतिक्रिया प्रणाली र आवश्यक सुरक्षा निर्देशनबारे जानकारी दिइएको थियो । सहभागीहरूलाई गराइएको जानकारीले सुरुङमार्गको सुरक्षित सञ्चालनलाई सहयोग पुग्नुका साथै सडक प्रयोगकर्ताहरूमा जिम्मेवार व्यवहारलाई प्रोत्साहन दिने विश्वास गरिएको छ ।
आयोजना निर्देशक नेपालले साउनभित्रै यो सुरुङमार्ग सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । नागढुङ्गा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुईपाङ्ग्रेबाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठुला सवारीसाधन गुड्छन्, जसमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । आयोजनाका अनुसार यो सुरुङमार्ग हुँदै दुईपाङ्ग्रे सवारीसाधन भने चलाउन पाइने छैन ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका वैदेशिक सहायता महाशाखा प्रमुख सुशीलबाबु ढकालले यो सुरुङमार्ग निर्माण र सञ्चालनले मुलुकको यातायात पूर्वाधार प्रणालीमा महìवपूर्ण योगदान गरेको र महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठ मनाइरहेका बेला नेपालको हरेक तह र पक्षमा जापान सरकारले पु¥याएको सहयोगको लागि धन्यवाद दिँदै उहाँले भन्नुभयो, “नेपाल र जापानबिचको सम्बन्ध युग युगसम्म रहिरहने छ । जापान सरकारको सहयोगमा नेपालको यातायात क्षेत्रमा धेरै काम भएका छन् । यसपछि अब काठमाडौँ उपत्यकाको यातायात सुधारको क्षेत्रमा काम सुरु गर्न लागिएको छ । यसमा पनि जापान सरकारको सहयोगको सराहना गर्नै पर्छ ।”
काठमाडौँको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले आफ्नो नगरपालिकामा राष्ट्रिय गौरवको यो आयोजना सम्पन्न भएकोमा नेपाल सरकार र जापान सरकार, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका, निर्माण कम्पनी र सम्बद्ध सबै पक्षलाई पूरा नगरवासीका तर्फबाट आभार व्यक्त गर्दै खुसी व्यक्त गर्नुभयो । स्थानीयवासी, स्थानीय सरकार र सबैको साथ सहयोग रह्यो भने जुनसुकै ठुला आयोजनाहरू सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण यस सुरुङमार्ग आयोजनाले प्रस्तुत गर्न सफल भएको उहाँको भनाइ थियो ।
धादिङको धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले सुरुदेखि नै चन्द्रागिरि र धुनीबेँसी नगरपालिकाले यस आयोजनालाई अगाडि बढाउन सहयोग गर्दै आएको चर्चा गर्दै दुवै नगरपालिकाका नगरवासीलाई धन्यवाद व्यक्त गर्नुभयो ।









