वजेट पुर्नलेखन गर्नुृ पर्ने एमाले अडान पछि कांग्रेस एमालेमा किचलो

ललितपुर, साउन ३ गते । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३र८४ को बजेट पुनर्लेखन गर्नुपर्ने डान लिए पछि बढेको कांग्रेस एमाले विचको विवादले किचलो उत्पन्न भई सत्ता सहकार्य टुङ्गिने चरणमा पुगेको छ ।
कांग्रेस–एमालेबिच सङ्घीय सरकार र प्रदेश सरकारमा सहकार्यका लागि २०८१ असार १७ गते भएको सातबुँदे सम्झौता दुई वर्षपछि तोडिएको छ । कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच साढे तीन वर्षका लागि सत्ता सहकार्यको सहमति भएको थियो । तर २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सङ्घीय सरकारबाट दुई दल बहिर्गमनमा परेका थिए ।
प्रदेश सरकारमा सहकार्य जारी रहँदा २०८२ ेपुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व गगनकुमार थापामा हस्तान्तरण भयो । त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो । कांग्रेसले प्रदेश सरकारका कामकारबाही अझै प्रभावकारी बनाउने सन्दर्भमा एमालेसँग संवाद गरे पनि सार्थक निष्कर्ष नआएपछि सत्ता समीकरण परिवर्तनको गृहकार्य सुरु भएको हो ।
प्रदशतर्फ कोशी प्रदेशमा एमाले सचिव हिक्मतकुमार कार्की, मधेश प्रदेशमा कांग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशमा कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुनुहुन्छ । त्यसै गरी गण्डकी प्रदेशमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशमा एमाले नेता चेतनारायण आचार्य, कर्णाली प्रदेशमा एमाले सचिव यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेता कमलबहादुर शाह मुख्यमन्त्री हुनुहुन्छ ।
कांग्रेस कोशी प्रदेश कार्यसमितिले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ । एमाले बागमती प्रदेश संसदीय दलले सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन शनिबार निर्देशन दिएको छ । मधेश प्रदेश र गण्डकी प्रदेशस्थित दुवै दलको नेतृत्व छलफलमै छ । लुम्बिनी प्रदेशमा कांग्रेसले गठबन्धन तोड्न नहुने बताए पनि केन्द्रको निर्देशन अनुसार अघि बढ्ने प्रस्ट पारिसकेको छ । कर्णाली प्रदेश सरकारविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपाले मुख्यमन्त्री शाहलाई राजीनामा दिन सुझाव दिएको छ । मुख्यमन्त्री शाहले केन्द्रको निर्णय पर्खिरहेको बताउनुभयो ।

कांग्रेसले एमालेसँग सत्ता गठबन्धन तोडेर नेकपासँग सहकार्यको प्रयास गरिरहेको छ । एमाले पनि नेकपालाई फकाउने प्रयत्नमा छ । कांग्रेस सभापति थापाले प्रतिनिधि सभाका प्रतिपक्षी दलबिच प्रदेशमा सहकार्य गर्नुपर्ने नेकपाको प्रस्तावमा विमति जनाउनुभएको छ । उहाँले सत्ता सहकार्यका सन्दर्भमा सहमति नभए कांग्रेस प्रतिपक्षमा बस्न तयार हुने प्रस्ट पार्नुभएको छ । एमाले अध्यक्ष ओलीले साउन १ गते च्यासलमा आयोजित कार्यक्रममा आफ्नो पार्टीलाई एक्ल्याउने प्रयास निरन्तर बढिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “एमाले यस्तो लहरो होइन, जसले अर्कालाई नसमातीकन उठ्नै सक्दैन ।” यो अभिव्यक्तिले अध्यक्ष ओली कांग्रेससँग चिढिएको प्रस्ट सन्देश दिएको छ । कांग्रेस नेताहरू र नेकपाका नेताहरू उहाँसँग संवादकै चरणमा हुनुहुन्छ । कांग्रेस सभापति थापासँगै उपसभापति विश्वप्रकाश शर्माले अन्य दलसँग संवाद गरिरहनुभएको छ । एमालेका पदाधिकारी नै संवादमा रहँदा नेकपाका सहसंयोजक माधवकुमार नेपालसँगै नेता वर्षमान पुन र प्रमेश हमालले संवादको अगुवाइ गर्नुभएको छ ।
कांग्रेस महामन्त्री गुरुराज घिमिरेले एमालेसँगको मौजुदा राजनीतिक समझदारी सङ्कटमा परेको प्रस्ट पार्नुभयो । उहाँले पछिल्लो राजनीतिक विकासक्रम र सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको किचलोका कारण कांग्रेसले नयाँ राजनीतिक विकल्पबारे छलफल थालेको बताउनुभयो ।
उहाँले विगतको नेतृत्व तहमा भएको समझदारी अनुसार सङ्घ र प्रदेशमा कांग्रेस–एमाले गठबन्धन अघि बढे पनि पछिल्लो समय एमालेको कार्यशैलीले समस्या उत्पन्न भएको दाबी गर्नुभयो । उहाँका अनुसार विशेष गरी सुदूरपश्चिम प्रदेशमा बजेट पुनर्लेखनको माग र एमालेको असहयोगका कारण गठबन्धनमा अविश्वास पैदा भएको हो । उहाँले भन्नुभयो, “एमालेको नेतृत्व भएको ठाउँमा हामीले सहजै साथ दियौँ । तर कांग्रेसको नेतृत्व भएको प्रदेशमा एमालेले जटिलता पैदा गर्ने काम गरेको हो । सुदूरपश्चिममा बजेट पुनर्लेखनको अड्को थापेपछि केन्द्रीय नेतृत्वले पनि त्यसलाई सुल्झाउन तदारुकता देखाएन । यसले एमालेको नियतमा शङ्का उब्जाएको छ ।”

महामन्त्री घिमिरेले अब कांग्रेसका लागि दुई वटा विकल्प खुला रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार कांग्रेस सभापति थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच मङ्गलबार भेटवार्ता भएको छ । उहाँले समझदारी बने नेकपासँग सहकार्य हुने सम्भावना बलियो रहेको बताउनुभयो । उहाँका अनुसार सङ्घमा जस्तै प्रतिपक्षमा बस्ने वा नेकपासँग मिलेर नयाँ सत्ता समीकरण बनाउने भन्ने विषयमा पार्टीभित्र छलफल सुरु भएको छ । उहाँले भन्नुभयो, “हामीले अहिले दुवै ढोका खुला राखेका छौँ । एमालेसँगको संवाद टुटेको छैन तर नेकपासँग पनि संवादको प्रक्रिया अघि बढेको छ ।”

एमाले र नेकपाले पनि बहुपक्षीय छलफल आरम्भ गरेका छन् । एमाले सचिव खगराज अधिकारी र नेकपाका नेता प्रकाश ज्वालाले कांग्रेससँग संवाद भइरहेको बताउनुभयो । सचिव अधिकारीले कांग्रेससँग भएको सहमतिमा एमाले अडिग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी छलफलमै छौँ । कांग्रेसले अस्थिरता निम्त्याउने विश्वास लागेको छैन । समझदारी हुन्छ भन्ने नै छ ।”
नेता ज्वालाले श्रीलङ्का जानुअघि नेकपा संयोजक प्रचण्ड र कांग्रेस सभापति थापाबिच परामर्श भएको जानकारी दिनुभयो । निर्णयमा चाहिँ नपुगेको बताउँदै उहाँले एमालेसँग पनि सामान्य छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस, एमाले, नेकपा, जसपा नेपालसहित सबै दलबिच प्रदेशमा सहकार्य हुनु पर्छ भन्ने नेकपाको केन्द्रीय नीति हो । सकेसम्म समझदारी गर्ने, नभए नीति निर्धारण गरेर सहकार्य गर्ने हो ।”

 

 

 

 

LEAVE A REPLY