राजबिराज कारागार तनाव ग्रस्त

काठमाडौँ । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ। राजविराज नगरपालिका–६ मा रहेको कारागारका जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक चलखेल गर्दै कैदीबन्दीहरूबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू विगत तीन दिनदेखि आन्दोलित भएका हुन्। आन्दोलनरत कैदीबन्दीहरूले जेलर मण्डलको तत्काल सरुवा र सो घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन्।
आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि स्थिति थप भयभीत र तनावपूर्ण बनेको थियो। त्यस क्रममा केही कैदीबन्दीहरूले आफ्नै शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास समेत गरेका थिए। कैदीबन्दीहरूले कारागारभित्रै आत्मदाहको प्रयास गर्न थालेपछि स्थिति नियन्त्रण बाहिर जान नदिन प्रहरी केही पछि हटेको स्रोतले जनाएको छ।
यसैबीच, राजविराज नगरपालिका १५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भन्दै वर्तमान चौकीदार कामेश्वर यादवले गत जेठ ५ गते कारागार बाहिरका विनोद यादव भन्ने व्यक्तिमार्फत जेलर मण्डलको नाउँमा आफूसँग ५ लाख रुपैयाँ घुस लिएको गम्भीर आरोप लगाएका छन्। सोही रकम उठाएको विषयमा विवाद चर्किएपछि चौकीदार यादवलाई झुम्का कारागार सरुवा गर्ने तयारी गरिएको र सोही कारण ‘बी’ ब्लकका कैदीहरूमाथि कुटपिट समेत भएको बुझिएको छ
घटना लगतै कारागार परिसरको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै त्यहाँ ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। तर, प्रशासनले सुरक्षाको कारण देखाउँदै सञ्चारकर्मीहरूलाई समेत घटनास्थलमा पुगेर समाचार सङ्कलन गर्न अवरोध पुर्‍याएको छ।
यता जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारको शान्ति(सुरक्षा कायम गर्न प्रहरी भित्र पस्न खोज्दा कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएको कुरा स्वीकार गरेका छन्। यद्यपि, अहिले कैदीबन्दीहरूलाई सम्झाइबुझाइ गर्दा अवस्था सामान्य बनिसकेको उनले दाबी गरे। प्रजिअ थापाका अनुसार ‘बी’ ब्लकका चौकीदार राम रिझनले कैदीबन्दीहरूलाई समानुपातिक व्यवहार नगरेको आरोपमा उनीहरूबीच आपसी झगडा भएको हो।

LEAVE A REPLY