ताप्लेजुङ, साउन २ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आउँदो भदौ १२ गतेदेखि सञ्चालन हुने भएको छ ।जिल्लामा हालसम्मकै धेरै धनराशिको पुरस्कार रहेको ताप्लेजुङ गोल्डकपको चौथो संस्करण भदौ १२ देखि १९ गतेसम्म सञ्चालन हुने भएको हो । आयोजक लाखेजात्रा सञ्चालन समितिले शनिबार खेलमैदानमै पत्रकार सम्मेलन गर्दै ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताबारे जानकारी गराएकोहोसमितिका अध्यक्ष सागर मादेनका अनुसार ताप्लेजुङ गोल्डकप सञ्चालन गर्ने मिति निश्चित भएसँगै प्रतियोगिताको तयारीलाई तीब्ररुपमा अघि बढाइएको छ ।
यसअघिका संस्करणमा झैं यो वर्ष पनि नेपालबाहिरको एकसहित आठ टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष मादेनले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा सहभागी हुने टोलीको टुङ्गो लाग्न भने बाँकी रहेको छ । यस्तै गोल्डकपको पुरस्कार राशि वृद्धि हुनसक्ने पनि अध्यक्ष मादेनको भनाइ छ ।
उहाँका अनुसार प्रतियोगितामा सहभागी हुने टोली र पुरस्कार राशिका विषयमा चाँडै अर्थात कम्तीमा एक हप्ताभित्र सार्वजनिक गरिने छ । गतवर्ष गोल्डकपको तेस्रो संस्करणमा विजेतालाई सात लाख दुई हजार ८२ र उपविजेतालाई तीन लाख ५० हजार ८२ रुपियाँ पुरस्कार प्रदान गरिएको थियो ।
वि.सं २०२९ सालदेखि प्रत्येक वर्ष लाखेजात्रा पर्वको अवसरमा विभिन्न नाममा प्रतियोगिता आयोजना गरिँदै आएको छ । कञ्चनजङ्घा च्यालेन्ज कप, पाथीभरा गोल्डकप हुँदै पछिल्लो चार वर्षयता ताप्लेजुङ गोल्डकपको नामबाट प्रतियोगिता सञ्चालन गर्न थालिएको हो ।
यसवर्ष प्रतियोगिता सम्पन्न गर्न करिव ९९ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने छ ।









