दाङमा जङ्गगली च्याउ खाँदा एक महिलाको मृत्यु, ६ जना बिरामी

काठमाडौँ । दाङको तुलसीपुरमा जङ्गली च्याउ खाएर बिरामी भएकी एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको शनिबार उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत असार ३१ गते जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका सात जना बिरामी परेका थिए । बिरामीमध्ये दुई जनाको घरायसी उपचार गरिएको थियो भने अन्य पाँच जनालाई अस्पताल भर्ना गरिएको थियो ।
च्याउ खाएर गम्भीर बिरामी परेकी दीपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि घोराही लगिएको थियो । घोराहीमा पनि उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ
असार अन्तिम साता जङ्गलबाट ल्याइएको विषालु च्याउका कारण बिरामी परेका अन्यको अवस्थाबारे थप विवरण आउन बाँकी छ । बर्खायाममा जङ्गलमा उम्रिने जङ्गली च्याउ जथाभाबी नखान र पहिचान गरेर मात्र सेवन गर्न चिकित्सकहरूले सुझाव दिँदै आएका छन् ।

LEAVE A REPLY