काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरूको भूमिकालाई संसद्मा थप प्रभावकारी बनाउन विशेष प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। पार्टीको संसदीय विभागद्वारा आयोजित यस कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका एमाले सांसदहरूको सहभागिता रहेको छ।
पार्टी संसदीय विभागकी प्रमुख एवं सचिव पद्मा अर्यालका अनुसार संसद्मा पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकालाई सशक्त र परिपक्व बनाउन यो प्रशिक्षण आयोजना गरिएको हो।
प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्था र संसदीय रणनीतिबारे सांसदहरूलाई विशेष ब्रिफिङ गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद् सचिवालयको काम, कर्तव्य, अधिकारका साथै संसदीय समितिको क्षेत्राधिकार र समितिहरूमा सांसदहरूले उठाउनुपर्ने मुख्य विषयवस्तुबारे कानुनी तथा व्यावहारिक जानकारी दिने भएका छन्।
पार्टीका महासचिव शंकर पोखरेलले ‘पार्टीको नीति र सांसदहरूको कर्तव्य’ विषयमा प्रशिक्षण दिनेछन्। हरेक सांसदले पार्टीको नीति अनुरूप नै संसद्मा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने र त्यसका लागि पार्टीका विभिन्न विभागहरूसँग निरन्तर समन्वय र परामर्श गर्नुपर्ने विषयमा महासचिव पोखरेलले स्पष्ट पार्ने जनाइएको छ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार कार्यक्रममा एमालेका सम्पूर्ण विभाग प्रमुख र पूर्व सदस्यहरूको समेत उपस्थिति रहेको छ। संसद्मा विषयगत छलफल हुँदा सांसदहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सम्बन्धित विभागहरूले विषय विज्ञहरूको नाम सिफारिस गरी एउटा ‘रोस्टर’ विज्ञ सूची तयार पार्नेछन्। संसद्मा जटिल विषयवस्तुमा आवश्यक पर्दा सांसदहरूले सोही रोस्टरमा रहेका विज्ञहरूसँग परामर्श लिन सक्नेछन्।









