७ साउन, काठमाण्डौ, मेडिकल क्षेत्रको सुधार अभियन्ता डा.गोविन्द केसी हिजो धनगढी पुगेका छन् । धनगढीमा श्रावण ७ देखि आमरण अनसन बस्न भन्दै केसी बुधबार साँझ दार्चुलाबाट धनगढी पुगेका हुन् ।
केसी धनगढी पुगेर एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा बास बसेका केसीले सरकारले आफ्नो माग सम्बोधन नगरेकाले आजदेखि अनसन बस्ने बताएका छन् ।
केसीका तर्फबाट विजयबाबु शिवाकोटीले एक प्रेस विज्ञप्तिमार्फत ५ बुँदे माग सार्वजनिक गरेका छन् ।
ती माग पूरा गर्न डा. केसीले मंगलबार साउन ५ गते सम्मको समयसीमा दिएका थिए । तर, सरकारले पूर्ण रूपमा बेवास्ता गरेको प्रेस विज्ञप्तिमा आरोप छ ।
‘जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारका लागि सरकारको यो संवेदनहीनताका कारण म साउन ७, २०८३ देखि पुनःसत्याग्रह सुरु गर्दैछु,’ प्रेस विज्ञप्तिमार्फत डा. केसीले भनेका छन्, ‘यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुनेछ ।’ डा.गोविन्द केसीले रखेका मागहरु यस्ता रहेका छन्ः
र्१) स्थापित नियम र मूल्य—मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र
स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरियोस् ।
२) चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस् ।
३) राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरियोस् । साथै विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरियोस् ।
४) सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरियोस् ।
५)२०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरियोस् तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरियोस् ।









