७ साउन, काठमाडौं । पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।
नेपाल र श्रीलंकाबीचको खेलमा इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समय अनुसार ११ः१५ बजे सुरु हुनेछ
बुधबार नेपालले कजाखस्तानविरुद्ध पहिलो खेलमा पाँच सेटमा गुमाएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले दुई सेट गुमाएर पुनरागमन गरेपनि पाँचौ सेटमा पराजित चएको थियो ।
यस्तै श्रीलंका भने पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । त्यसैले नेपाल र श्रीलंका दुवै पहिलो जितको खोजीमा छन्
एफआईभिबी विश्व वरियता मान्यता प्राप्त यस प्रतियोगिताको पहिलो खेलपछि नेपाल विश्व वरियतामा ८४औं स्थानमा समावेश भएको छ । यस्तै श्रीलंका वरियतामा ८८औं स्थानमा छ ।
आजै कजाखस्तान र उज्वेकिस्तान तथा पाकिस्तान र बंगलादेशबीचको खेल पनि हुनेछ ।
सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि च्याम्पियनसिपमा हरेकले एकआपसमा खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
सेटर हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा यस पटक ६ नयाँ खेलाडी समावेश थिए । ६ खेलाडीले नै कजाखस्थान विरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन् ।









