पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किने संकेत

काठमाडौं । दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु भएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन सक्ने संकेत देखिएको छ । पछिल्लो समय देखिएका उहाँका गतिविधिले त्यस्तो संकेत देखाएको हो । उहाँले नौं वर्षपछि पहिलो पटक एमालेको महिला भेलामा सहभागिता जनाउनु भएको थियो । भेलामा उहाँनै प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यस्तै, उहाँले नेवा१ पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको शुभारम्भ पनि गर्नुभएको थियो । एक साताभित्रै उहाँले २ पटक कार्यक्रममा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमाले पूर्व उपाध्यक्ष समेत रहनु भएकी उहाँले एमाले सनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा प्रमुख वक्ता बनेर कार्यक्रममा सहभागीता देखाउनुलाई चासोका साथ हेरिएको छ । यो सहभागिता र सक्रियताले राष्ट्रपति भण्डारी पुनः राजनीतिमा फर्किन सक्ने सम्भावना बारे एमालेभित्र मात्रै होइन नेपाली राजनीतिमा पनि चर्चा हुँदै आएको छ ।
गत वर्ष २९ फागुनमा राष्ट्रपतिको कार्यकाल सकिएपछि उहाँले सरकारी निवासमा नबस्ने निर्णय गर्नुभएको थियो । भण्डारीको सुरक्षामा नेपाली सेना खटिए पनि अन्य सरकारी सेवा सुविधा फिर्ता गरी सक्नुभएको छ । सरकारले दिएको गाडी पनि २०७९ फागुनमै फिर्ता गर्नुभएको थियो । सरकारी निवासमा नबस्ने र गाडी सुविधा फिर्ता गर्ने निर्णयले पनि भण्डारी सक्रिय राजनीतिमा फर्कने अनुमानलाई बल पुर्याएको छ । २०७२ असोज ३ गते संविधान जारी भएपछि २०७२ कार्तिक ११ गते भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । २०७४ सालको चुनाव पश्चात पनि राष्ट्रपतिमा निर्वाचित भण्डारी सात वर्षपछि शितल निवासबाट बाहिरिनु भएको थियो । केही दिन अघि एमालेले पूर्व राष्ट्रपति भण्डारीलाई ललितपुरको गोदावरीमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा ‘गणतन्त्र गौरव’बाट सम्मानित गरेको थियो । राष्ट्रपतिको भूमिका राम्रोसँग निभएकै कारण ‘गणतन्त्र गौरव’बाट सम्मानित गरिएको एमाले नेताहरुको तर्क रहेको छ ।
राष्ट्रप्रमुख भईसकेको व्यक्ति सामान्यतः सक्रिय राजनीतिमा आउँदैनन् । जस्तो, प्रथम राष्ट्रपति डा।रामवरण यादव पनि राज्यकोषबाट सुविधा लिँदै हुनुहुन्छ र राजनीतिबाट पनि टाढै हुनुहुन्छ । तर पछिल्ला समय पूर्वराष्ट्रपति भण्डडारी राजनीतिक सन्देश दिने बक्तव्य दिँदै मात्र हिड्नु भएन कार्यक्रमको प्रमुख अतिथि नै बन्नुभयो । कार्यक्रमको प्रमुख अतिथि हुँदा उहाँले प्राय राजनीतिक वक्तव्य दिने गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीहरुलाई समग्र आन्दोलनको गहन समिक्षा गर्न सुझाव सहित कम्युनिष्टहरुलाई मिल्न आह्वान गर्नु हुन्छ । आगामी निर्वाचनमा वामएकता सहकार्य भयो भने भण्डारीको नेतृत्वमा एमालेसहित एकीकृत समाजवादी र माओवादी समेत भण्डारीको नेतृत्वमा सामेल हुने र भण्डारीलाई सबैले मान्ने पात्रका रुपमा हेर्ने गरिएको छ । अहिले एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्षबीच राजनीतिक ध्रुविकरण छ ।
भण्डारीलाई राजनीतिमा ल्याउने बारे एमालेमा दुईमत
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा आउने सक्रियता बढाई रहँदा एमालेमा दुईमत देखा परेको छ । एमालेको एउटा तप्काले भण्डारीलाई राष्ट्रपतिमा आउन हुँदैन भनिरहेको छ, राजनीतिमा नआउनकै लागि भनेर नेकपा स्थापना दिवसमा सम्मान गरिएको भनिरहेको छ भने एमालेकै अर्को तप्काले भण्डारीलाई राजनीतिमा ल्याउनुपर्छ, भण्डारीलाई राजनीतिमा ल्याउन सके कम्युनिष्ट एकता हुने र २०८४को आम निर्वाचनमा कम्युनिष्टको नेतृत्वमा सरकार बनाउन सकिने धारणा राख्दछन् । विभिन्न दलका दोस्रो, तेस्रो तहका नेताहरु पनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन इच्छा गरिरहेका छन् । एमालेभित्रकै ओली खेमा पनि भण्डारीलाई जबरजस्त राजनीतिमा ल्याउन प्रयास गरिरहेका छन् । त्यसैकारणले पनि पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किने संकेत मिलेको हो । ओली पछि एमालेको नेतृत्व गर्ने व्यक्ति अभाव हुने सम्भावना देखेर पनि भण्डारीलाई भावी पार्टी अध्यक्षका रुपमा स्वीकार्न राजनीतिमा भण्डारी फर्किनै पर्ने एमाले नेताहरुको धारणा छ । भण्डारी एमालेका धेरै जस्तो कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता देखाउँदै आउनुभएको छ । जस्तो प्रथम एमाले अध्यक्ष मनमोहन अधिकारीको २५औं स्मृति दिवसका अवसरमा मनमोहन प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा र २०८० माघ १६ संसदमा केपी ओली पुस्तक विमोचनमा पनि भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी भइसक्नु भएको छ । भण्डारीले विमोचन कार्यक्रममा ओलीलाई समकालिन राजनीतिक नेताहरुमा सर्वाधिक प्रतिभाशाली नेताका रुपमा चित्रण समेत गर्नुभएको छ ।

LEAVE A REPLY