काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस(एमाले एक ठाउँमा आउने गरेको बताएका छन् ।
देश आर्थिक रूपमा संकटमा रहेको, संविधानका केही विषयलाई सुधार गरेर अगाडि जानुपर्ने परिस्थिति बनेकाले कांग्रेस(एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन् ।
उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अवसर दिन आफूहरू सरकारमा बसेर सहयोग गरेको बताउँदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल सुरु गरेको आरोप लगाए ।
उनले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउनका लागि, विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा विश्वास बढाउन कांग्रेस(एमाले मिलेर काम गर्ने बताए ।
उनले प्रधानमन्त्री प्रचण्ड घोर अल्पमतमा रहेको बताउँदै संवैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै संसदबाट राजीनामा गर्नु नै सही निर्णय हुने बताउँदै असार २८ गते विश्वासको मत लिनुको कारण के हो भन्दै प्रश्न गरेका थिए ।







