काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने काममा सरकारले सवैको सहयोगको अपेक्षा गरेको बताउनु भएको छ ।
क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोदारको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा छलफल गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले यस्तो धारणा राख्नुभएको हो ।
सो क्रममा मन्त्री गुरुङले सूचनाको क्षेत्रमा आएको क्रान्ति र र्टिफिसियल इन्टेलीजेन्स एआई को सुरुवातसँगै देखिएको चुनौतीलाई समेत मध्यनजर गरी सरकारले आफ्नो नीतिगत सुधार र ब्यवस्थापनको काम अघि बढाउने जानकारी दिनुभयो ।
क्यान महासंघका पदाधिकारीसँगको छलफलमा मन्त्री गुरुङले आफूले पदबहालीकै क्रममा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्न कार्यदल गठनको निर्णय लिएको स्मरण गर्नुभयो । मन्त्री गुरुङले क्यान महासंघलाई आर्टिफिसियल ईन्टेलिजेन्सको बिषयमा कार्यपत्र लिएर आउन आग्रह पनि गर्नुभयो ।
‘आर्टिफिसियल इन्टेलिजेन्स एआई को बिषयमा कार्यपत्र लिएर आउनोस, आवश्यक नीतिगत कुरा गर्न सरकार तयार छ,’ मन्त्री गुरुङले भन्नुभयो । यस्तै उहाँले सरकार नीजि क्षेत्रमैत्री रहेको र मुलुकमा सकारात्मक परिणाम निकाल्नका लागि सहकार्य गर्न चाहिरहेको जानकारीसमेत दिनुभएको थियो ।
मन्त्री गुरुङसँग आज अध्यक्ष पोदार, महासचिव चिरञ्जिबी अधिकारीसहित पदाधिकारीले मन्त्रालयमा भेट गर्नुभएको हो । सो क्रममा भेटघाटमा क्यान महासंघका अध्यक्ष पोदारले सूचना प्रविधी क्षेत्रका बजेटको कार्यान्वयन यसका प्रभाकारिकताको विषयमा ध्यानाकर्षण गराउनु भयो ।








