कांग्रेस–एमाले एक्लाएक्लै चुनाव लड्ने

काठमाडौं । सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले आगामी २०८४ को चुनावमा कुनै पनि दलसँग् गठबन्धन नगरी एक्लाएक्लै चुनाव लड्ने संकेत गरेका छन् । कांग्रेस केन्द्रीय कार्य समितिले आफ्नै संगठनको तागतमा निर्वाचनमा भाग लिने प्रस्ताव गर्नु र एमाले पोलिटब्यूरो बैठकमा पनि यस्तै विचार आउनुले यी दुई दलले एक्ला एक्लै चुनाव लड्ने संकेत देखिएको हो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगन थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव र महामन्त्री विश्व प्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक प्रस्ताव परिमार्जन सहित अनुमोदन समेत गरेको छ ।
त्यसैगरी एमालेले पनि आफ्ना सांगठनिक बैठक मिसन ८४ मा निर्वाचन केन्द्रित भएर यस अघि नै दुई चरणमा अभियान चलाईसकेको छ । फेरि पनि यस्ता अभियानलाई निरन्तरता दिने गरी एमालेले विभिन्न बैठक गरेको छ । सरकारमै रहेका बेला एमालेले तेस्रो चरणको बैठक विस्तार अभियान अघि बढाउने तयारी पनि गरेको छ । महासचिव शंकर पोखरेलले पोलिटब्यूरोको बैठकमा संगठन विस्तारका लागि तेस्रो चरणमा कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ । उक्त कार्ययोजना माथि पोलिटब्यूरोका सदस्यले आआफ्ना धारणा राखीसकेका छन् । महासचिव पोख्रेलद्वारा प्रस्तुत निर्णायक राष्ट्रिय शक्ति निर्माणः ‘वार्षिक कार्ययोजना’मा ‘मिसन ग्रासरु र मध्यपहाडी संकल्प यात्रा’ अनुभवका आधारमा तेस्रो चरणका कार्यक्रम पनि छिट्टै सञ्चालन गरिने उल्लेख छ । कार्यक्रमको उद्देश्य आगामी चुनावमा एमालेलाई पहिलो र बलियो शक्ति बनाउने रहेको छ ।
यस अघि २०७४ मा एमाले र माओवादीले गठबन्धन गरी बहुमत ल्याएका थिए । तर आन्तरिक किचलोका कारण जनताले दिएको बहुमतको सहि सदुपयोग गर्न
सकेनन् । त्यसैगरी २०७९ को निर्वाचनमा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए । त्यसमा पनि कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बने । त्यसयता पनि तेस्रो दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिले कांग्रेस र कहिले एमालेसँग मिलेर सरकारको नेतृत्व गरे । तर जनताको काममा सरकारले गति लिन नसकेपछि अहिले फेरी कांग्रेस–एमाले मिलेर सरकार सञ्चालन गरिरहेका छन् । कांग्रेस र एमालेको भद्र सहमतिमा पहिले एमालेले र पछि नेपाली कांग्रेसले सरकार सञ्चालन गर्ने र २०८४ मा एक्लाएक्लै चुनाव लड्ने भएका
छन् । कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापाको जोडबलले कांग्रेस २०८४ मा एक्लै चुनाव लड्ने निर्णयमा पुगेको बताइन्छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार एमालेले संगठन चुस्त दुरुस्त राख्न तयार छ, आगामी निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको छ । पोलिटब्यूरो बैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को तयारीमा लागि रहन र एमालेलाई पहिलो पार्टी बनाउन सदस्यहरुलाई निर्देशन दिएका
थिए । साथै नेकपा एमालेले ८४ को निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने, बरु नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिने अध्यक्ष ओलीले बताए । बैठकमा ओलीले भनेर ‘मिसन ८४’ मा जित निकाल्न पार्टीको सांगठनिक कामलाई चुस्त दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नु पर्दछ । संगठनहरु चुस्त दुरुस्त हुनुपर्दछ, प्रदेश कमिटिहरु राम्रोसँग चलाउन सक्नु पर्दछ, माथिको आदेश कुरेर मात्र बस्नु हुँदैन । ग्राउण्डमा योजना बनाएर अघि बढ्नु पर्दछ र बनेका योजनाहरु कार्यान्वयनमा लैजानु पर्दछ । बैठकमा ओलीलाई उद्धृत गर्दै एक सदस्यले भने ।
त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अभयबाबु शिवाकोटीका केन्द्रीय कार्यसमिति बैठकले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने प्रस्ताव अनुमोदन गरेको छ । ‘आउने निर्वाचनमा नेपाली कांग्रेसले कोही कसैसँग गठबन्धन गर्दैन । हाम्रो त प्रस्ताव नै पास भैसक्यो ।’ उनले आफ्नै बलबुतामा चुनाव लड्ने निर्णय पारित भएको जानकारी गराए ।
यता एमालेले भने जनतासँग जोडिन तीन तहका जनप्रतिनिधिसँगै केन्द्रीय तहका नेतालाई परिचालन गर्ने, संगठन विस्तार र मजबुत बनाउने क्रममा एमालेले वडामा कुल मतदाताको ३ प्रतिशत र पालिका तथा जिल्लामा कुल मतदाताको ६ प्रतिशतलाई पार्टी सदस्य बनाउने योजना बनाएको छ ।

LEAVE A REPLY