नेपाल विश्वविद्यालय विधेयकले तोक्यो शिक्षाविद् हुन चाहिने योग्यता

 

काठमाडौं । कस्तो व्यक्तिलाई शिक्षाविद् मान्ने भन्ने विषयमा निश्चित परिभाषा नहुँदा शिक्षा सम्बन्धी सामान्य ज्ञान भएका व्यक्तिलाई स्वघोषित रुपमा शिक्षाविद् बनाइदै आएको थियो । तर शिक्षाविद् कहलिएकाहरुबाट प्रभावकारी रुपमा काम हनु नसकेपछि नेपाल विश्वविद्यालय विधेयकले शिक्षाविद् हुन चाहिने योग्यता तोकेको छ । यसका लागि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयक माथि दफाबार छलफल गरेर सुझाव सहितको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरी विधेयकको प्रतिवेदनमा योग्यता तोकिएको
थियो । विधेयकको दफा २ मा शिक्षाविद्को योग्यता तोकिएको छ । जसअनुसार शिक्षाविद् कहलिन चाहनेले नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारीधि उपाधि प्राप्त गर्नुपर्ने छ । अध्ययन अध्यापन र अनुसन्धानको विषयमा कम्तीमा १० वर्षको अनुभव हासिल गर्नुपर्ने छ । यो विधेयकले तोकेको शिक्षाविद्को योग्यता नेपाल विश्वविद्यालयका लागि मात्रै हो । नेपाल विश्वविद्यालयले तोकेको परिभाषाले समग्र शिक्षाविद्का लागि नै मानक स्थापित गर्ने र अन्य स्थानमा पनि लागु गर्न सजिलो हुने शिक्षाविद् प्रा।डा।विद्यानाथ कोईरालाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपाल विश्वविद्यालय विधेयकले शिक्षाविद्को योग्यता तोक्नु ठीक हो । अहिले त बजारमा स्वघोषित शिक्षाविद्, बुद्धिजीवि, अभियन्ता बन्ने चलन छ । यो अवस्थालाई नेपाल विश्वविद्यालय विधेयकले स्पष्ट पारेको छ ।’
यो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि मात्रै ऐनका रुपमा कार्यान्वयनमा आउने छ । यसपछि शिक्षा सम्बन्धी सामान्य ज्ञान हुने व्यक्तिले शिक्षाविद् कहलिन पाउने छैन ।

LEAVE A REPLY