काठमाडौं । नेकपा माओवादी केन्द्रले कात्तिक १० गते वर्तमान सरकारले बेथिती, भ्रष्टाचार, महँगी र जनविरोधी कदम काम गरेको भन्दै त्यसविरुद्ध बृहत् खबरदारी सभा
गर्यो । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको खबरदारी सभामा माओवादी अध्यक्षसहित पार्टीका शीर्ष नेताले सरकारको अहिलेको कार्यशैली गलत भएको भन्दै जनविरोधी काम नगर्न चेतावनी दिएका थिए ।
सरकारबाट बाहिर हुँदा यस्ता चेतावनी दिए पनि आफ्नो नेतृत्वको सरकार हुँदा वर्तमान सरकारले गरे जस्ता काम नै गर्न सकेका
थिएनन् । त्यसैले यो खबरदारी सभा भनेको सत्ता बाहिर रहँदाको पीडा पोख्ने काम मात्रै हो । कहिले एमालेसँग र कहिले नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्दा पहिले तिनै दल राम्रा थिए अहिले प्रतिपक्षको भूमिकामा रहँदा तिनै दल नराम्रा देख्नु राजनीतिक दृष्टि भ्रम त होइन रु पहिला एमाले–कांग्रेससँग सम्बन्ध बराबरी थियो । हो, वर्तमान सरकारले पनि जनअपेक्षित सबै राम्रा काम गर्न सकेको छैन । सत्ताभित्रैका कतिपय नेताहरुले सरकारका काम कारवाहीप्रति असन्तुष्टि व्यक्त गरिरहेको अवस्था छ । तर सरकार अस्थिरकै कारण प्रचण्ड नेतृत्वको सरकारले कामको मेखो मार्न सकेको थिएन । अहिले सडकमा बरबराउनु प्रतिपक्षको धर्म निर्वाह गर्नु मात्रै हो । मुलुकमा कुनै एक दलको स्पष्ट बहुमत न आएसम्म र त्यस्ता दलले स्वविवेकमा चल्न नजानेसम्म ढाँट्ने काम बाहेक अन्य काम प्राय कमै मात्र हुने लोकतान्त्रिक गणतन्त्रको सरकार बनेदेखि अहिलेसम्मको राजनीतिक परिदृश्यले प्रष्टै पारीसकेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा पाँचै वर्ष सरकार चलाउने मनसायले कहिले कांग्रेससँग त कहिले नेकपा एमालेसँग मिलेर सरकारको नेतृत्व गर्न खोजेपछि जनमानसमा माओवादीको प्रभाव घट्न थालेको छ । प्रभाव घटी जनमत खच्कदै जाँदासम्म सरकारको नेतृत्व गरीरहेको माओवादीले सत्ताबाट बाहिरिएपछि विद्रोह गर्दै आइरहेको छ । त्यसो त आफू सत्तामा हुँदा पनि कार्यकर्ता सडकमा नउतारेका बेला प्रधानसेनापति रुकमांगत कटवाललाई हटाउन खोज्दा हटाउन नसकेर आफैंले प्रधानमन्त्री पदबाट राजीनामा दिई नेता कार्यकर्ता सडकमा उतारेका थिए ।
माओवादीले खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा सहकारी ठगी प्रकरणमा सरकारले राजनीतिक प्रतिशोध देखाएको, ठगीमा दोषी देखिएका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुलाई अनुसन्धानमै नल्याएको र प्रतिपक्षी दलका नेतालाइ भने पक्राउ गरिएको प्रति असन्तुष्टि व्यक्त गरेको छ । साथै माओवादी केन्द्रले विगतको बाढी पहिरोबाट पाठ सिकेर बाढी पहिरोबाट हुन सक्ने क्षतिको आँकलन गरी पूर्व तयारीमा चुकेको, उद्दार राहत तथा पुर्नस्थापनामा ध्यान नदिएको, भ्रष्टाचारीको पक्षपोषण गरेको, सरकार ढाल्न कै लागि संविधान संशोधनको एजेण्डा ल्याएको तर सरकार बनेसँगै एजेण्डा नै गायब बनाएको आरोप लगाउँदै आफूले गरेको खबरदारी सभालाई हल्का रुपमा नलिन चेतावनी समेत दिएको छ ।

LEAVE A REPLY