नेपाल लाइफ इन्स्योरेन्सको प्रोजेक्टकेयर अभियान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर संकलन गर्न प्रोजेक्ट केयर अभियानअन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
काठमाडौँको ग्लोबल कलेजमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसी सँग सहकार्य गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले जनाए । उनले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको जनाए ।
राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको छ भने आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको जनाए । साथै, उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
राउण्ड टेबल नेपालका निर्वतमान अध्यक्ष नितेशकुमार अग्रवालले सगरमाथा विश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र रहेको जनाए । उनले सरकार तथा अन्तर्राष्ट्रिय जगतले पनि सफाइ प्रयास जारी राखे तापनि प्रभावकारी हुन नसकेको भन्दै यस अभियानले ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । यस क्रममा कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुर्ने र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइने जनाए । साना प्रयासहरूले नै ठूलो प्रभाव पार्ने भन्दै अग्रवालले नेपाल लाइफलाई अभियानमा सहभागी भएकोमा धन्यवाद दिए ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सुरु हुनु सकारात्मक रहेको जनाए ।
सगरमाथा, संसारको सबैभन्दा अग्लो हिमाल, हरेक वर्ष हजारौँ पर्वतारोहीहरूलाई आकर्षित गर्ने गरेको तर, मानव गतिविधिको वृद्धिसँगै सगरमाथा फोहोरको डंगुर बन्दै गएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले जनाए । त्यागिएका टेन्टहरू, अक्सिजन सिलिन्डरहरू, खानेकुरा प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरू हिमालमा छोडिएको कारण यो विश्वकै सबैभन्दा अग्लो फोहोर थलो नबनोस् भन्ने अभिप्रायका साथ यो सहकार्य गरिएको उनले जनाए ।
कार्यक्रममा नेपाल लाइफका कर्मचारीहरू, राउन्ड टेबल नेपालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

LEAVE A REPLY