मध्यम वर्षामै ठूलो बाढी आउदा काभ्रेका स्थानीय चिन्तित

हालै काभ्रेमा आएको मध्यम वर्षाले सडक र भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको छ।मध्यम खालको वर्षामै यति ठूलो क्षति पुगेको छ भनmे वर्षायाममा आउने पानीले झन् कति ठूलो क्षति पुर्याउला भनेर चिन्ता थपिदिएको छ ।
बाढीले प्रभावित भएका क्षेत्रमा मर्मतकार्य भइरहेको छ र यसले वर्षायाममा थप विपत्तिको चिन्ता बढाएको छ।
काभ्रेमा सोमबार अपराह्न मध्यम खालको वर्षाले नै ठूलो बाढीको प्रकोप निम्तिएको छ । बाढीले बगाउँदा एक महिला बेपत्ता छिन् भने सडक लगायतका अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुगेको छ ।
बाढीका कारण सोमबार अपराह्नदेखि नै अवरुद्ध सडक सञ्चालनको प्रयास भइरहेको छ ।
सोमबार अपराह्न काभ्रेको खोपासी र रोशीमा मध्यम खालको वर्षा मापन भएको थियो । विगत २४ घण्टामा खोपासीमा ४३.४ र रोशीमा ४१ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । १० मिलिमिटरभन्दा बढी र ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम खालको वर्षा भनिन्छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहाल स्थानीय वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावले काभ्रेमा मध्यम खालको वर्षा भएको र त्यसैले क्षति पुर्‍याएको बताउँछन् ।
प्रिमनसुन अवधिमा कुनै ठाउँमा सुक्खा हुने र कुनै ठाउँमा मात्रै केन्द्रित भएर पानी पर्ने हुन्छ । यसलाई खण्डित रुपमा वर्षा भएको भनिन्छ । काभ्रेको बाढी खण्डित वर्षाको परिणाम भएको मौसमविद दाहालको भनाइ छ ।
काभ्रेको पनौती नगरपालिकाको वडा नम्बर ३ देखि १० सम्म बाढीले क्षति पुगेको छ । यसैगरी रोशी गाउँपालिका र तेमाल गाउँपालिका पनि बाढी–पहिरोबाट प्रभावित भएका हुन् ।
पनौती नगरपालिकामा गत वर्ष असोजको बाढीले क्षती पुर्‍याएपछि अस्थायी रूपमा मर्मत गरिएको खानेपानी पाइप फेरि बगेको छ । झन्डै ३ किलोमिटर लामो अस्थायी सडक पनि बगाएको छ ।
खेतबारीमा रोपिएका आलु लगायतका बाली पनि डुबानमा परेका छन् । रोशी गाउँपालिका–६ स्थित सिपाली हुँदै महाभारत गाउँपालिका जाने सडकको ह्युम पाइप पनि बगाएको छ ।
पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्तीमा बाढीले बढी क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ । माम्तीमा दुईतर्फी नै बाटो अवरुद्ध छ । कटुन्जेबेसी र बोक्सीकुनामा एकतर्फी मात्र सञ्चालनमा छ । बाढी प्रभावित क्षेत्रमा आज बिहानैदेखि मर्मतको काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

 

LEAVE A REPLY