नदी तटीय क्षेत्रका कृयाकलापमा सर्तकता अपनाउन जल तथा ममौसम विभागको अनुरोध

काठमाडौँ। नेपालमा १५ दिन अगावै मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । गत बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएपछि त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको एक सय मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ ।
जसका कारण कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । जसले धनकुटा हुँदै जाने भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथरको यातायात ठप्प भएको छ । आजै झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेको पनि केसीले बताए । उनका अनुसार अहिले पानी घट्दो क्रममा रहेको र मानवीय जोखिम रहेको छैन । स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पूर्वी नेपालको झापा तथा धरान धनकुटा सडक क्षेत्रमा बाढी पहिरोका घटना भएको र सो क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद् व्यवस्थापनको कार्य भइरहेको बताए।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम पानी परिरहेको छ ।

पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको पनि विभागले जानकारी दिएको छ। पानी पार्ने प्रणाली अहिले उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले बुलेटिनमार्फत जानकारी गराएको छ।

पछिल्लो समय कोशी प्रदेशको झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको र ती क्षेत्र भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायतमा सतर्कता तहभन्दा माथिको बाढी मापन भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले पनि सबैमा अनुरोध गरेको छ।

महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप बर्षा हुनसक्ने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने भएकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

 

 

LEAVE A REPLY