काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाई थप सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन कर्जा सुविधा सुरु गरेको छ। यस सेवामार्फत ग्राहकहरुले अब मोबाइल एप प्रयोग गरेर नै आफ्नो मुद्दती खाताको आधारमा तुरुन्तै कर्जा लिन सक्ने भएका छन्।
बैंकले जानकारी दिए अनुसार ग्राहकले आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशतसम्म रकममा आधारित भएर ५ हजारदेखि अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन्। प्राप्त कर्जा रकम तत्काल बचत खातामा जम्मा गरिनेछ र यो सेवाका लागि कुनै पनि भौतिक कागजातको आवश्यकता नपर्ने बैंकले जनाएको छ।
बैंकले डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई छिटो, प्रभावकारी र सहज बनाउन यो नयाँ सेवा सुरु गरेको हो। बैंकले यसअघि पनि ग्राहकका लागि विभिन्न डिजिटल सेवाहरू उपलब्ध गराउँदै आएको छ।
केही समयअघि मात्र बैंकले नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। साथै, मोबाइल एपमार्फत शेयर आवेदन, ऋण चुक्ता नम्बर सेवा र क्रस बैंक टेलर सुविधा जस्ता सेवा पनि प्रारम्भ गरेको छ।









