काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव तथा नौलो जनवादका पिता पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागेका हुन् ।।
विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८८० को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै पहिलो पटक विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गरेका थिए। त्यसैले पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनको पिताको रुपमा मान्ने गर्दछ।
पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति, नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सारेका थिए। कम्युनिष्ट घोषणापत्र लेखेपछि उनकै नेतृत्वमा २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थापना भएको हो।
भारत, कलकत्तास्थित श्यामबजारको एक बंगालीको घरमा नेकपा पार्टी स्थापनाको घोषणा भएको थियो। नेकपाको पुष्पलाल संस्थापक महासचिव थिए। नेकपाको स्थापना कालमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठ रहेका थिए।
एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानले पुष्पलालले नेपालको कम्युनिष्टलाई एकीकृत गरेर नेपालमा कम्युनिष्टको विजारोषण गरेको बताए। उनले पुष्पलालले विसं २०२७ मा अगाडि सारेको विचारलाई २० वर्षपछि नेपालका राजनीतिक दलले अनुशरण गरेको बताए।
“पुष्पलालले विसं २०२७ मा नेपालमा प्रजातन्त्र पुनःबहालीका लागि नेपाली कांग्रेससँग कार्यगत एकता गरेर जानुपर्दछ भन्नुभएको थियो, हामी उग्रपन्थी थियौँ, कांग्रेससँग मिल्ने भनेर हामीले पुष्पलाल दक्षिणपन्थी भनेर आलोचित गरेका थियौं”, नेता न्यौपानेले भने, “जनमत सङ्ग्रहपछि हामीभित्र पनि उग्रपन्थ कम हुँदै भयो, २०४५ सालमा पुष्पलालले अगाडि सारेको कुरालाई नेपालमा रहेको प्रजातान्त्रिक पार्टीले मोर्चा नबनाइकन राजालाई ठाउँमा पनि ल्याउने सकिदैन र पञ्चायतको पनि अन्त्य गर्न सकिदैन भन्नेमा हामी पनि पुग्यौं।”
सोही निर्णयका आधारमा २०४६ सालमा नेपाली कांग्रेससँग मोर्चा बनाउने निर्णय भएको उनको भनाइ छ। सोही मोर्चाकै कारण नेपालमा प्रजातन्त्रको पुनःबहाली भएको उनले उल्लेख गरे।
माओवादी केन्द्रका सचिव राम कार्कीले पुष्पलालले कम्युनिष्ट आन्दोलनलाई नेपालभित्र सुरुवात गर्ने नेताको रुपमा रहेको बताए। पुष्पलालले नेपालको कम्युनिष्ट पार्टीको घोषणापत्रमा नेपाली समाजको विशेषतालाई उजागरण गर्नमा प्रयास गरेको भन्दै उनी सैद्धान्तिक र वैचारिक रुपमा नेपाललाई बाटो देखाउने काम गरेको बताए।
“पुष्पलालले कम्युनिष्ट र कांग्रेस मिलेर प्रजातन्त्र ल्याउनुपर्छ भन्नुहुन्थ्यो, उहाँकै नीतिअनुसार नै मुलुकमा कम्युनिष्ट र कांग्रेस मिलेर प्रजातन्त्र आएको हो”, उनले भने।
नकपा ९एकिकृत समाजवादी० का नेता डा बेदुराम भुसालले पुष्पलालले नै नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेको बताए। पुष्पलालले गठन गरेको कम्युनिष्ट आन्दोलनलाई एकता गर्न सकेमात्र उनीप्रति सच्चा श्रद्धासुमन हुने उनको भनाइ छ। “कम्युनिष्ट पार्टीबीच एकता विभाजन भए पनि अब फेरि पनि एकताबद्ध बनाउन आवश्यक छ”, उनले भने।
पुष्पलालको स्मृति दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले कीर्तिपुर नगरपालिका४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलीसभा, अन्तरक्रिया, ग्रन्थ विमोचनलगायत कार्यक्रम गर्ने जनाएको छ।
पार्टीले मातहतका सबै जिल्ला कमिटीलाई स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ।









