जेनजी आन्दोलनको मौका छोपेर व्यक्तिको घरमा तोडफोड गर्ने भारतीय एक नागरिक जेल चलान ,

काठमाडौं । जेनजी आन्दोलनको समयमा विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा भएको डाँका प्रकरणमा संलग्न एक भारतीय नागरिकलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
ललितपुर महानगरपालिका–११ ढटल मार्गस्थित शाक्यको घरमा चोरी गरेको आरोपमा पक्राउ परेका भारतको बेतिया जिल्लाका १८ वर्षीय सरोज आलमलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।

आलमसँगै पक्राउ परेका तीन जना नेपाली नागरिक भने धरौटीमा रिहा भएका छन्।रिहा हुनेमा काभ्रेको रोशी गाउँपालिका–१ का २५ वर्षीय फुर्साङ लामा, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का २२ वर्षीय सहजाद मिया मंसुरी र रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का २८ वर्षीय मनिष सुनार रहेका छन् ।
अदालतले लामालाई ६० हजार रुपैयाँ र मंसुरी र सुनारलाई जनही ३०–३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको प्रहरी परिसरले जनाएको छ ।
प्रहरीका अनुसार शाक्यको घरको ग्राउन्ड फ्लोरमा सञ्चालनमा रहेको ‘रेष्टलस’ नामक गैरसरकारी संस्थाबाट केही अमेरिकी डलर, दीर्घ सेवा र अवकाश पदक, उनका बाबुले पाएको शुभराज्य रोहण पदक, सुन–चाँदीका सिक्का र गहना लगायतका सामग्री चोरी भएको थियो।

 

LEAVE A REPLY