कार्यवाहक सभापति खड्का ले दुई महामन्त्रीसँग गर्नु भयो छलफल

काठमाडौँ। नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको महाधिवेशन विवाद समाधानका लागि दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग आज सानेपास्थित पार्टी कार्यालयमा छलफल गर्नु भएको छ । छलफलमा कार्यबाहक खड्काले दुई महामन्त्रीसँग सहमति खोज्ने प्रयास गर्नु भएको छ । । पार्टीभित्र संस्थापन पक्षले प्रतिनिधिसभा चुनावअघि कुनै पनि प्रकारको महाधिवेशन—नियमित वा विशेष—गर्न नहुने अडान लिएको छ भने सुधारपक्षीय नेताहरू भने मंसिर अन्तिमसम्म विशेष महाधिवेशन गर्नुपर्ने मागमा अडिग छन्।
महामन्त्री गगन थापाले २७ देखि २९ मंसिरभित्र महाधिवेशन गर्न सकिने दुई विकल्पीय कार्यतालिका प्रस्ताव गरेका छन्, तर सहमति नजुटेकाले उक्त प्रस्ताव केन्द्रीय समितिमा पेश हुन सकेको छैन।

यसअघि २९ असोजमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी कार्यवाहक सभापति खड्कालाई विशेष महाधिवेशनको मागपत्र बुझाएका थिए। उनीहरूले पार्टीमा नवीकरण र नेतृत्व पुनःनिर्माणका लागि विशेष अधिवेशन अपरिहार्य भएको तर्क गर्दै आएका छन्।
संस्थापन पक्ष भने आसन्न निर्वाचन र सरकार सञ्चालनका कारण तत्काल महाधिवेशन सम्भव नरहेको दाबी गर्दै नियमित प्रक्रिया आगामी वर्ष मात्र अघि बढाउनुपर्ने मतमा छ।
२८ असोजमा सुरु भई कात्तिक १ गते स्थगित गरिएको कांग्रेस केन्द्रीय समितिको बैठक आज बिहीबारदेखि पुनः सुरु भएको छ, जहाँ महाधिवेशनको कार्यतालिका नै मुख्य एजेन्डा रहने बताइएको छ।

LEAVE A REPLY