काठमाडौं । निर्वाचन आयोगले आगामी फगुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कात्र्तिक ३० गतेसम्मका लागि नाम दर्ता गर्ने समयावधि तोकेको भए पनि दर्ता गर्न नभ्याएपछि प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा आयोगले मंसिर ५ गतेसम्मका लागि नाम दर्ता सकिने गरी म्याद थपेको छ ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रधानमन्त्री कार्कीले नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखेर म्याद थपका लागि आग्रह गरेकोमा आयोग पदाधिकारीबिचको बैठकले ५ दिनसम्म थप गरेको जानकारी दिनु भयो ।
प्रधानमन्त्री कार्कीले एक सन्देशमा बायोमेट्रिक दिन निर्वाचन कार्यदल पुग्न नपर्ने भएपछि नामावली दर्ता प्रक्रिया सरल र सहज भएको बताउनुभयो । पछिल्लो पटक बढेको चापलाई व्यवस्थित गर्न म्याद थपका लागि आयोगलाई आग्रह गरेको प्रमुख आयुक्त भण्डारीले बताउनुभयो । उहाँले आगामी निर्वाचनमा भोट हाल्न जेनजी पुस्ता उत्साहित रहेको विषय नामावली दर्तामा देखिएको उत्साहले समेत पुष्टि गरेको बताउनुभयो ।
प्रमुख आयुक्त भण्डारीले जेनजी पुस्ताको प्रविधिप्रति गहन ज्ञान, पञ्जीकरण विभाग र आयोगबीच समन्वय तथा सरकारको अग्रसरताले बायोमेट्रिक प्रणालीसँग जोडेर नामावली दर्ता प्रक्रिया सहज भएको बताउनु भयो ।
मतदाता नामावली दर्ताका सम्बन्धमा गृहमन्त्रालयले पनि निर्वाचन आयोगलाई पत्राचार गरी म्याद थप गर्न आग्रह गरेको थियो । आयोगले राष्ट्रिय परिचय पत्र बाहकले मतदाता नामावलीमा नाम दर्ता गर्दा बायोमेट्रिक दिन निर्वाचन आयोगको कार्यालय पुग्न नपर्ने निर्णय गरेपछि नामावली दर्ता गर्ने चाप उल्लेख्य रुपमा बढेको छ । नामावली दर्ताको चाप दैनिक १५ हजारबाट ५० हजारसम्म बढेको छ ।









