जेनजी आन्दोलनको आगजनी र लुटपाटमासंलग्नको प्रहरीद्वारा व्यापक खोजी, ५६ जना पहरीको खोरमा

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न ५६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये केहीलाई धरौटीमा रिहा गरिएको छ भने अन्यलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार, “हामीले फोटो र भिडियो प्रमाणका आधारमा संलग्न व्यक्तिहरूलाई मात्र पक्राउ गरेका छौँ। शान्तिपूर्ण प्रदर्शन गर्ने कुनै पनि व्यक्तिलाई समातिएको छैन।” उनले थपे, “अहिलेसम्म ५६ जनालाई नियन्त्रणमा लिइएको छ, जस मध्ये ३६ जनामाथि अनुसन्धान जारी छ। अदालतको आदेश अनुसार केहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने एक जना बालकलाई बाल सुधार गृह पठाइएको छ।”
कास्की जिल्ला अदालतले आपराधिक उपद्रव मुद्दामा प्रतिवादीमध्ये केहीलाई धरौटीमा रिहा गर्ने, केहीलाई पुर्पक्षका लागि थुनामा राख्ने र एकजना बालकलाई सुधार गृह पठाउने आदेश दिएको छ। अदालतले फरार रहेका तीन जनालाई पनि एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख रुद्रादेवी शर्माका अनुसार, जेनजी आन्दोलनका क्रममा कास्कीमा करिब ५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। सरकारी कार्यालय १ सय १६ वटा, निजी सम्पत्ति २७ वटा, संघीय कार्यालय २६ वटा, प्रदेश कार्यालय ३३ वटा, र स्थानीय तहको भवन तथा सवारी साधनमा २ अर्ब १८ करोड रुपैयाँ क्षति भएको छ।
सवारी साधनको विवरणअनुसार, चार पाङ्ग्रे १ सय १९ र दुई पाङ्ग्रे २ सय १० वटा गाडीमा क्षति पुगेको छ। होटल र नेताका घरसमेत जोड्दा निजी सम्पत्ति २ अर्ब ७३ करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रशासनले जनाएको छ। प्रहरीले विशेष टिम परिचालन गरी अनुसन्धान जारी राखेको छ र आन्दोलनका क्रममा दोषी ठहर हुनेहरूलाई कानुनअनुसार कारबाही हुने जनाएको छ।

LEAVE A REPLY