सँपादकीय,
नेपालको संविधानमा भ्रष्टाचार गर्ने,जघन्य अपराध गर्नेहरुलाई मृत्यू दण्ड र सर्वस्वहरण गर्ने व्यवथा नहुँदा र ठूला अपराध गर्नेहरुलाई शक्ति र पहँुचको जोडवलमा सुन पानी लगाएर चोख्याउने प्रबृत्तिका कारण भ्रष्टाचार, चोरी, डकैती, अपहरण, मानवबेचबिखन, लागुऔषध तस्करी, सुन तस्करी, बलात्कारपछि हत्या लगायतका अपराधहरु मौलाउँदै गएका छन् । यस्ता अपराध गर्नेहरु चारैतिरबाट दोषी प्रमाणित भए पछि मृत्युदण्ड दिने र भष्टाचारीको सर्वस्वहरण गर्नेखालको कानून बनाउने र त्यसको निष्पक्ष रुपमा कार्यान्वयन गर्ने हो भने यस्ता आपराधिक क्रियाकलापहरु तत्कालै रोकिन सक्नेमा कुनै शंका छैन । यस्ता क्रियाकलापले समाजमा भय, पैदा गरीरहेको छ । अन्य विकसित मुलुकहरुमा मृत्यू दण्डको व्यवस्था हुँदा नेपालमा चाहि हुनु नहुने भन्ने के छ र ? हुन त मानिसले मानिस मार्नु उचित होइन तर कुशासन बढे पनि त्यसको रोक थामको लागि कडा कानुन निर्माण गर्नै पर्ने बाध्यता मुलुकमा सृजना भएको छ ।
स्वफूर्त रुपमा यस्ता आपराधिक क्रियाकलाप नगरौं भन्ने भावना जबसम्म मानवमा उत्पन्न हूँदैन, तब सम्म यस्ता आपराधिक क्रियाकलापहरु भईनै रहन्छन्। आपराधिक कृयाकलापले जरा गाडिसकेको हुँदा यसलाई उखेलेर फाल्ने कडी भनेको मृत्युदण्डको सजाय को कानुन बनाउने संविधान र विधाननै हो । यसको विकल्प अरु देखिदैन । यतिबेला भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्ने आवाज उठिरहे पनि त्यसलाई रोक्ने कोसिस भएको देखिएको छैन । विगतमा जस्तो
स्थिति थियो, वर्तमानमा पनि त्यस्तै छ र कडा सजायका रुपमा दिइने मृत्युदण्डको व्यवस्था नगर्ने हो भने कालान्तरसम्म यस्ता बेथिति भइरहने छन् । यसमा कुनै शंका छैन ।
पहिलेदेखि नै विकाश को बाधक भनेकै भ्रष्टाचार भएको छ । भ्रष्टाचार पाइला पाइलामा भइरहेका छन् । ठाउँ अनुसार कार्यदल सहयोगीदेखि प्रमुख सचिवसम्म, सांसददेखि प्रधानमन्त्रीसम्म र स्थानीय वडादेखि संघीय राजधानीसम्म भ्रष्टाचार हुँदा एक नेपालीलाई करिब ५ लाख ऋणको बोझ पर्न गएको छ । विकासका नाममा भ्रष्टाचार हुँदा भ्रष्ट रातारात करोडपति बन्ने र इमान्दार व्यक्ति कौडीपति हुँदा जानु परेको तितो सत्यता छ । भौतिक प्रर्वाधार निर्माणमा ढिलासुस्ती हुनु, निर्माण भएका पूर्वाधारगुणस्तरहिन हुनुलगायतका क्रियाकलापहरु सबै भ्रष्टाचारकै उपज हुन् ।
स्वदेशी कम्पनीले निर्माण गरेको पूर्वाधार ६ महिना नटिक्ने, तर पूर्वाधार विदेशीले निर्माण गर्दा वर्षौसम्म टिकिरहनुले नेपालमा पूर्वाधार निर्माणमा कति भ्रष्टाचार हुँदोरहेछ भनेर प्रमाणित गरीसकेको छ । उदाहरणका लागि तिनकुनेदेखि भक्तपुरसम्मको रोडलाई लिन सकिन्छ । नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसंसद भवन, भाद्र २४ गते जलाइएकोलगायतलाई लिन सकिन्छ ।
गुणस्तरहिनतालाई लिने हो भने, काठमाडौंको टेकू र कालीमाटि जोड्ने पूललाई लिन सकिन्छ । सो पुल बनेको दशक भैसक्यो तर प्रयोगमा आउन सकेको छैन । त्यस्तै काठमाडौं शान्तिनगर र तिनकुने जोड्ने बागमती पुल निर्माण सुरु भएर पिच गर्न लाग्दा गुणस्तरहिन पुलको जग भन्ने प्रमाणित भएपछि त्यो अहिले रोकिएको छ । कहिले बन्ने हो अत्तोपत्तो छैन । जसको परिणाम पुलको मुखमा पुगेपछि यातायात जाम हुँदा यात्रुलाई सास्ती भइरहेको छ । त्यसकारण यस्ता समस्याबाट मुक्त हनु भ्रष्टाचार पूर्ण रुपमा बन्द हुनुपर्ने र बन्द गर्न वर्तमान सरकारले अध्यादेशमार्फत कानून बनाएर होस् या निर्वाचित सरकारले संसदीय प्रक्रियाबाट होस् मृत्युदण्डको कानून ल्याउनु आवश्यक छ । तब मात्र मुलुकमा सुशासन हुने र देश समृद्धशाली बन्नेतफ अगाडि बढ्न सक्छ । यसका लागि भाषणमा भन्दा निर्माण र कार्यान्वयनमा ध्यान दिन जरुरी छ ।









